काठमाडौं ।
शहरी विकास मन्त्रालयका सचिव गषेपालप्रसाद सिग्देलले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन हुने प्रतिवद्धता जनाएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्नको लागि आधार अनुसार म्याद थप गरिएको बताए । उनले अहिले समयमै काम सक्नका लागि जनशक्ति, निर्माण सामग्रीहरु सहित कार्यतालिका बनाएर अघि बढिरहेको जिकिर गरे । नयाँ संसद भवनको सम्पूर्ण काम सक्ने समय पुसको पहिलो दिन भएपनि दोस्रो हप्तासम्म परीक्षणहरु समेत सकिनुपर्ने जिकिर गरे । संसदीय समितिको भवन असोजको दोस्रो हप्ता हस्तान्तरण गरिने बताए । अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन पनि असोजको दोस्रो साता काम सकिने बताए । प्रतिनिधि सभा भवन मंसिरको दोस्रो साता सकिने र राष्ट्रिय सभा भवन पनि मंसिरको दोस्रो सातामा सिभिलको काम सकिने उनको जिकिर थियो ।
उनले भने, ‘आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्नको लागि आधारअनुसार हामीले म्याद थप गरेका हौँ । उनीहरुले अहिले जनशक्ति, निर्माण सामग्रीहरुसहित कार्यतालिका बनाएको छ । कामै सम्पन्न गर्ने पुसको १–२ गतेको हो । टेस्टिङको लागि भनेर पुस १६ सम्मको म्याद थप गर्ने निर्णय गरेका हौँ । संसद सचिवालयको भवन २ पनि पुसको पहिलो साता प्राप्त हुन्छ । संसदीय समितिको भवन असोजको दोस्रो हप्ता हस्तान्तरण गर्ने भन्ने छ । प्रेस तथा छपाई पनि असोजको दोस्रो सातामा हस्तान्तरण गर्ने भन्ने छ । अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन पनि असोजको दोस्रो साता सकिन्छ । प्रतिनिधि सभा भवन मंसिरको दोस्रो साता सकिन्छ । हलहरु विशेष गरी मंसिरको दोस्रो सातामा सकिन्छ भने अरु काम मंसिर दोस्रो सातासम्म सकिन्छ । राष्ट्रिय सभा भवन पनि मंसिरको दोस्रो सातामा सिभिलको काम सकिन्छ भने पुसको दोस्रो सातामा अर्को कन्ट्याक्ट कम्प्लिट हुन्छ ।’
सचिव सिग्देलले सवारी साधन पार्किङ पनि पुसको दोस्रो साता पूरा हुने जानकारी गराए ।
प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ११:०६




