काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेतले आतंकवादविरुद्धको लडाईंका लागि केवल सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त नहुने बताएका छन् ।
काठमाडौंमा आईतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले सुरक्षा संयन्त्रभित्र रहेको राजनीतिलाई हटाउन नसकिने समेत बताए ।
सुरक्षा संयन्त्र र राजनीतिबीचको सम्बन्धले नै आतंक र आतंवादबीचको भेद र अन्तरसम्बन्धलाई परिभाषित गर्ने उनको भनाइ छ ।
उनले आतंकवाद र आन्तरिक राजनीतिक विद्रोह छुट्याउनुपर्ने बताए । विविधताको सही व्यवस्थापन नगर्दा समस्या बढ्नेतर्फ सचेत हुन जरुरी रहेकोमा समेत उनले जोड दिए ।
उनले भने, ‘मिलिटरी एक्टमा रहेको पोलिटिकल आत्मालाई झिकिदिने हो भने त्यसपछि बाँकी आतंक नै रहन्छ । अब त्यसको घनत्व कति छ, आयाम कति छ ? त्यसको प्रभावक्षेत्र कति छ भन्ने कुराले आतंक र आतंवादबीचको भेद र अन्तरसम्बन्धलाई चाहीँ डिफाइन गर्ला । यो राज्यको दृष्टिले पनि हुन्छ । त्यसैले सुरक्षाको टुल्स मात्रै पनि आतंवादको समाधान होइन । यो एउटा महत्वपूर्ण कम्पोनेन्ट हुन्छ । तर यतिमात्र होइन । हामीले सुरक्षालाई समाजको सांस्कृति, सामाजिक र आर्थिक पक्षबाट पनि हेर्नुपर्छ होला । त्यही आधारमा हामीले सुरक्षा रणनीति बनाउन सक्यौं भने यो समस्यासँग जुध्न र समाधान गर्नसक्छौं ।’
पछिल्लो समय बढ्दै गएको आतंकवाद नियन्त्रणका लागि सुरक्षा संयन्त्र मात्र पर्याप्त नहुने भन्दै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षबाट समेत रणनीति तयार गर्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार ०९:४२




