काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफू अनुकूल कानून बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मीडियामाथि नियन्त्रण गर्ने गरिरहेको आरोप लगाउँदै आलोचना गरेका छन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकार स्वयंको कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको उनको टिप्पणी छ। उनले भिजिट प्रकरणदेखि पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा भइरहेका घटनामा संसद् र सरकार उदासीन रहेको आरोप पनि लगाए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई हाउ डेमोक्रेसी इज डाई भन्ने किताब पढ्न र आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामको मूल्याङ्कन गर्न आग्रह समेत गरे। सांसद खनालले सुशासन सुनिश्चित गर्न र ‘भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहनुपर्ने आफ्नो पार्टीको माग रहेको बताए।
खनालले भने, ‘हामीले भिजिट भिसा प्रकरणको स्वतन्त्र छानबिनको माग गर्दा लिचिबारीको अडियो टेप आयो, पासपोर्ट छपाइमा भागबण्डा भएको खबर बाहिरियो र कुलिङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा आयो र पनि संसद् मौन छ। उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको छ। केही दिनअघि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै पनि घुस लिइरहेको सूचना प्रहरी कहाँ पुग्छ तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि बढ्दैन। लोकतन्त्र मास्न खोज्नेहरु आफ्नो अनुकुल कानून बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन्। कार्यकारी अधिकार बलियो बनाएर मिडियामाथि नियन्त्रण गर्न खोज्छन्। प्रधानमन्त्रीलाई मेरो आग्रह छ, हाउ डेमोक्रेसी इज डाई भन्ने किताब पढ्नुहोस् अनि आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामहरुसँग मूल्याङ्कन गर्नुहोला। ’
उनले आफूहरू मुलुकमा सुशासन कायम होस् भन्ने चाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले के चाहेको हो ? भन्दै प्रश्न गरे।
प्रकाशित मिति २०८२ साउन २८ गते मंगलबार ०२:४३




