काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले २०८४ सालको निर्वाचनसम्मै वर्तमान सत्ता समीकरण अघि बढ्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर स्थिर सरकार दिएको बताए ।
मुलुकमा सरकारको स्थिरता नै सुनिश्चित हुन नसकेपछि नागरिकका समस्या समाधान हुन सक्दैनन् भन्ने बुझेर बनेको सरकार भएको उनले प्रष्ट पारे ।
सरकारको स्थिरताले भूमि समस्या समाधान आयोगको स्थिरता पनि कायम हुने उनको भनाइ छ । यसले परिणाम राम्रो निस्किने विश्वास उनले व्यक्त गरे ।
नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्ट रहेको र सरकारको नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या नहुने उनले तर्क गरे ।
गृहमन्त्री लेखकले भने, ‘अहिले हामीले स्थिर सरकार दिएका छौँ । यो सरकार मुलुकमा सरकारको स्थिरता नै सुनिश्चित हुन नसकेपछि अरु नागरिकसँग जोडिएका विषयहरु सुनिश्चित हुन सकेन । अहिलेको सरकार निर्माणको उद्देश्य भनेको दुई ठूला राजनीतिक दलहरुले स्थिर सरकार दिने उद्देश्यका साथ यो समीकरण बनाएका छौँ । यो समीकरणले स्थिर सरकार दिन्छ । स्थिरताले आयोग पनि स्थिर हुन्छ । आयोगले काममा पूर्णता दिनसक्छ । यो कुरा हामी ढुक्कका साथ भन्नसक्छौँ । तपाईंहरु दुई वर्षसम्म ढुक्कले काम गर्नुस् । तपाईंहरुलाई कुनै बाधा, व्यवधान, आयोग परिवर्तन केही पनि हुँदैन । किनभने यो समीकरण, नेपाली काँग्रेस र नेकपा एमाले मिलेर जुन सहमति गरेका छौँ, त्यो सहमति अनुसार यो समीकरण रहन्छ । ०८४ सालको निर्वाचनसम्म समीकरण रहन्छ । सरकारको स्थिरता रहन्छ । नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्टताको साथ भनेका छौँ । नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या हुँदैन । त्यसले निरन्तरता पाउँछ । तपाईंहरु ढुक्कसँग काम गर्नुस् ।’
गृहमन्त्री लेखकले सरकारले आयोगलाई गर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।
प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार ०९:२१




