काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गरेका छन्।
बुधवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। उनले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले निर्माण ढिलाइ भएको भन्दै संसद्मा प्रश्न उठाएका थिए। प्रधानमन्त्री ओलीले रंगशालाको निर्माण प्रक्रियामा प्रतिक्रियावादी अवरोध, गलत मनशायसहितका मुद्दा र प्रतिकूल मौसमका बाबजुद काम अघि बढेको बताए।
उनले भने, ‘निर्माणका क्रममा प्रतिक्रियावादले दिएको झन्झट, अवरोधका गलत मनसायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद कीर्तिपुरको क्रिकेट रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रश्नहरु सुनिए, प्याराफिट बन्नो रु मेरो जवाफ छ– बन्यो । फ्लड लाइट जोडियो रु टुंगिन आँट्यो । कुनै जादु त होइन नि । यस्ता प्रश्न गर्ने साथिहरुलाई एक पटक संसदीय समितिका माननीय सदस्यहरुले जस्तै अनुगमन गर्नको लागि अनुरोध गर्छु । सँगै जाने भएपनि जाऔँ मिलाएर सँगै हेर्न । यसपटक प्याराफिट र फ्लडलाइट जोड्ने काम सकिएपछि रंगशालाको दोस्रो चरणको काम फेरि अगाडि बढाइेछ ।’
प्याराफिट र फ्लडलाइट जडान सकिएपछि दोस्रो चरणको काम अघि बढाइने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।
प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार ०३:३९




