काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छिन्।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्। उनले गृहमन्त्री लेखकले न्यायालयमा हस्तक्षेप गर्न खोजेकोबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सार्वजनिक अभिव्यक्ति दिइसकेको उल्लेख गरिन्।
उनले रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेशी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा न्याय परिषद्मा परेको उजुरी तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको समाचार सार्वजनिक भएको उल्लेख गरिन्। डा. कार्कीले न्याय परिषद्मा उजुरी दर्ता भएपछि स्वतन्त्र न्यायको सम्भावनाबारे प्रश्न उठाइन्।
उनले भनिन्, ‘नैतिकता जागेर माननीय रामहरी खतिवडाज्यूले राजीनामा दिनुभयो । तर गृहमन्त्रीज्यूको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन । न्यायालयमा उहाँको हस्तक्षेपबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीज्यूको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइसकेको छ । रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्यूको पेशी चढेको दिन गृहमन्त्रीज्यूकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको समाचार छरपस्ट छन् । पेशी चढेकै दिन यसरी न्याय परिषद्मा उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ सभामुख महोदय रु कानून जान्ने व्यक्तिले यस्तो कदम चाल्दा समाजमा के सन्देश जान्छ । केही व्यक्तिहरुले मन्त्री र प्रधानमन्त्रीले समेत न्यायाधीशलाई फोन गरेको आरोप लगाउनु भएकै हो । यसबारे म सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
उनले गृहमन्त्री लेखकका आफ्नै मानकले पनि उनमा नैतिकता जाग्न नसकेको बताइन्।
प्रकाशित मिति २०८२ साउन ३० गते बिहीबार ०२:३८




