काठमाडौं ।
पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन्।
उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हाल्न खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ति गर्नुपर्ने बताए।
आज संसद्को अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विदेशमा पनि विदेशीहरूले नै कम्पनीहरूको नेतृत्व गर्ने गरेको र त्यसबाट ती कम्पनी सबल हुने गरेको बताए।
नेपालमा अनेक बहानामा विदेशीहरूसहित त्यहाँ रहेका नेपालीलाई बन्देज लगाउन खोजिनु उचित नभएको उनको भनाइ छ। सांसद महतका अनुसार वाणिज्य बैंक र नेपाल बैंक घाटामा गएपछि व्यवस्थापनका लागि करारमा विदेशीहरू आएर त्यसलाई ट्रयाकमा ल्याएका थिए।
त्यसपछि नेपालीहरूले नै चलाए। त्यसरी नै सरकारी निकायमा विदेशीहरू भित्र्याएर कम्पनीलाई माथि उठाउन सकिने उनको भनाइ छ।
पूर्वअर्थमन्त्री महतले भने‚ ‘अमेरिका, युरोपमा ट्रिलियन डलरका कम्पनीहरू बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, भारतीयले चलाइरहेका छन्। योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि। सीईओले दायाँबायाँ गर्नेबित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ। त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दै छौं। हामी नयाँ प्रबन्ध गर्न खोजिरहेका छौँ।’
महतले वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि नियुक्त हुने सिइओ, देश विदेश बुझेको हुनुपर्ने बताए। उनका अनुसार वित्त कोषको सीईओको सवालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, त्यो पनि हेर्नुहुँदैन।
नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रीन कार्ड होल्डर पनि हुनसक्छ, त्यस्ता सबैलाई स्विकार्न उनले प्रस्ताव गरे।
प्रकाशित मिति २०८२ साउन ३० गते बिहीबार ०४:०२




