पोखरा ।
आज भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी पर्व, आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरि श्री कृष्णको जन्मदिन मनाईंदै छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ ।
कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ ।
आफूले कर्मअनुसार नै फल प्राप्त हुन्छ । गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ ।
कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको श्रीमद्भागवतलगायत पुराणमा उल्लेख छ ।
जन्माष्टमीका दिन भगवान् कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्म समयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ ।
पौराणिक ग्रन्थहरूमा यो दिन गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ ।
आज पोखरासहित देशभरका कृष्ण मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ ।
प्रकाशित मिति २०८२ साउन ३२ गते शनिबार ०९:३०




