काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ ।
पार्टीले यही भदौ ९ गते देश तथा विदेशमा रहेका जनवर्गीय संगठनलाई पनि दिवस मनाउन आह्वान गरेको छ ।
पार्टीले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय संगठन र विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
पार्टी जिल्ला कमिटीले दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तक्र्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायत कार्यक्रम गर्ने जनाइएको छ ।
केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको अर्यालले बताए ।
नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, चुनौती र कार्यदिशा विषयक गोष्ठीमा अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नेपाली कम्युनिष्ट आन्दोलनको योगदानबारे प्रस्तुति दिनेछन् ।
पार्टीका शीर्ष नेताहरूले वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीका भूमिकाबारे समीक्षा गर्ने कार्यक्रम छ ।
समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्यका साथ २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
अहिले विभिन्न कारणले कम्युनिष्ट पार्टी टुटफुट भएर विभिन्न समूहमा छरिएका छन् ।
तत्कालीन नेकपा एमालेसँग वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने उद्देश्यले २०७८ साल भदौ ९ गते नेकपा एकीकृत समाजवादी स्थापना भएको थियो ।
प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०९:५७




