काठमाडौं ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, संघीय सांसदको संख्या बढी भएको बताएका छन्।
काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रदेशहरूको संख्या, पालिकाको संख्या र संघीय सांसदहरूको संख्या बढी भएकाले यसबारेमा विचार गर्न जरुरी रहेको बताए।
संविधान संशोधन गर्न सकिने भएकाले त्यसमा चिन्ता लिन नपर्ने बताए। उनले वर्तमान सरकारले संविधान संशोधनको एजेण्डालाई आफ्नो सहमतिको दस्तावेजमा राखेको तर कठिन विषय रहेको पनि बताए।
एक वर्षमा कुन विषयमा संशोधन गर्ने भन्नेकुरा पनि तय गर्न नसकिएको उहाँको भनाइ छ। राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयलाई छुँदै नछुने हो भने अन्य विषयमा संशोधन गर्न त्यत्ति गाह्रो नपर्ने तर अर्थ नराख्ने स्पष्ट पारे। राज्यको आर्थिक अवस्थाले अहिलेका संरचनाहरू धान्न कठिन भएको बताए।
उनले भने, ‘संविधान संशोधीय कुरा भएकाले संविधान संशोधन गर्नेकुरा ठूलो कुरा होइन । वर्तमान सरकारले संविधान संशोधनको एजेण्डालाई आफ्नो सहमतिको दस्ताबेजमा राखेको छ । तर अत्यन्त कठिन रहेछ । भने जस्तो सजिलो हुँदो रहेनछ । जति हामीले सजिलो सोचेका थियौँ, त्यति सजिलो विषय होइन रहेछ । अहिलेसम्म हामीले एक वर्षमा कुन विषयमा संशोधन गर्ने भन्नेकुरा पनि तय गर्न सकेका छैनौँ । राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयलाई छुँदै नछुने हो भने अन्य विषयमा संशोधन गर्न त्यत्ति गाह्रो नपर्ला । तर त्यसले अर्थ कति राख्ला रु यि सब कुरा गर्दा जटिलता उत्पन्न हुन्छ, कसरी पर्गेल्ने भन्नेकुरा अत्यन्त कठिन छ । हामी कहाँ राजनीतिक पदहरु धेरै सिर्जना भए । संरचनाहरु पनि यति धेरै बढी बनायौँ, अब त्यो राज्यको आर्थिक अवस्थाले अर्थतन्त्रले धान्न पनि गाह्रो भएको छ । हाम्रो यो साधारण खर्च यसरी बढेर गयो की धान्न पनि पनि गाह्रो हुने अवस्था छ । त्यसमा हामीले सोच्नैपर्छ । हामीले अब विचार गर्दा प्रदेश, पालिका, संघीय सांसदको संख्या पनि बढी भयो की भन्नेकुरा पनि विचार गर्नुपर्नेछ । प्रदेशको संख्या पनि बढी भयो की रु पालिकाको संख्या पनि बढी भयो की, संघीय सांसदका संख्या पनि बढी भएको हो की विचार गर्नुपर्छ ।’
प्रमुख सचेतक घिमिरेले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकिएको बताए। संविधान निर्माण गर्ने बेलामा हौसिएर कार्यान्वयनमा ल्याउन व्यवहारिक नभएका केही कुराहरू बढाएर राखिएको बताए।
प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०१:११




