काठमाडौँ
नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारले संसद् छलेर आर्थिक विधेयक पास गरेको एक महिनामै करका दर हेरफेर गरेर अपराध गरेको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। उनका अनुसार सलाई बनाउन आवश्यक काठको भन्सार शुल्क, सुक्खा तथा पेय पदार्थका जुसमा ३५ प्रतिशत अन्तःशुल्क तथा औषधि प्याकेजिङमा प्रयोग हुने बोटलमा लगाइएको अन्तःशुल्क समेत सरकारले घटाएको छ।
उनले संसद् चलिरहेको र आर्थिक विधेयक भर्खरै मात्र पारित भएको अवस्थामा पहिलो चौमासिकमै सरकारले यसरी करका दर परिवर्तन गरेर आर्थिक अपराध गरेको आरोप लगाए। उनले करका दर हेरफेरबारे सरकारले संसद्लाई जानकारी गराउन माग गरे।
पुनले भने, ‘सरकारले संसद्लाई छलेर केही करका दर हेरफेर गरेका समाचार आएका छन्। भर्खरै आर्थिक विधेयक पास भएको छ। पहिलो चौमासिकमै सरकारले यसरी करका दर हेरफेर गरेको छ। यसरी संसद्लाई छलेर करसम्बन्धी अन्ताराष्ट्रिय सिद्धान्तविपरीत करका दर हेरफेर गर्नु आर्थिक अपराध हो।’
उनले आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गर्नुले अर्थमन्त्री अक्षम रहेको पुष्टि भएको टिप्पणी गरे।
प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०३:१६




