काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउन जरुरी रहेको बताएकी छिन् ।
शुक्रबार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनिकरण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताएकी हुन् ।
उनले सेवा प्रवाहका सवालमा स्थानीय तहहरुले अझै धेरै काम गर्न जरुरी रहेको पनि बताइन् ।
उनले संविधानतः संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढाउने, प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने र स्थानीय तहले सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
तीन तहको सरकारबीच आपसि सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकेमात्र मुलुक र जनताको अवस्था परिवर्तन गर्न सकिने कुरामा उनको जोड छ ।
स्थानीय तहको सेवा प्रवाहको अवस्थाको मूल्यांकन गर्नका लागि कार्यसम्पादन मूल्यांकन प्रणालीको विकास गरिएको पनि मन्त्री न्यौपानेले जिकिर गरिन् ।
उनले भनिन्, ‘अब हामी हिँडेर मात्र पनि पुग्दैन । हाम्रो गतिलाई अगाडि बढाउनुपर्नेछ । यदि हामीले देशको विकास गर्ने हो भने हाम्रो आफ्नो गति पनि बदल्नुपर्नेछ । हामी दौडिनुपर्नेछ । जनप्रतिनिधिहरु पनि त्यसैअनुसार लाग्नुपर्नेछ र स्थानीय तहहरुले अझै धेरै ध्यान दिनुपर्नेछ । स्थानीय तह हाम्रो संविधानको मक्सद भनेको पनि संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढाउने हो । राष्ट्रियस्तरका ठुला ठूला इस्युहरुलाई अगाडि बढाउने हो । प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने हो भने स्थानीय तहले सर्भिस डेलिभरीलाई ध्यान दिने हो । यसरी तीन तहको सरकारले आपसि सहकार्य र समन्वय गरेर अगाडि बढियो भने निश्चित रुपमा जनताको अवस्था पनि बद्लिन्छन् । त्यसैले तपाईहरुले गर्ने कार्यसम्पादन पनि त्यही अनुसार हुनुपर्छ । त्यसैले मन्त्रालयमा कार्यसम्पादन मूल्याङ्कन प्रणालीको विकास गरेको हो ।’
मुलुकको विकासका लागि विकसित देशहरुलाई पछ्याउँदै सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा मन्त्री न्यौपानेको जोड छ ।
प्रकाशित मिति २०८२ भदौ ७ गते शनिबार ०९:४०




