काठमाडौँ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा निजी क्षेत्रको लगानी हुन नसकेको गुनासो गरेका छन्। बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरसंवादमा उनले यस्तो बताएका हुन्। उनले निजी क्षेत्रको ठूलठूलो लगानी बाँकेसम्म मात्रै पुगेको बताए। उनले लगानी सुदूरपश्चिमसम्म के कारणले पुग्न नसकेको हो रु भन्दै प्रश्न गरे। उनले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा भिन्नता देखिएको बताए।
शाहले भने, ‘लगानीका सन्दर्भमा दुईवटा कोणले हेर्नुपर्छ। एउटा कोण सरकारले व्यवस्थापन गर्यो‚ गरेन। यसमा हामी धेरै चुकेका छौँ। अर्को पाटो लगानी किन सुदूरपश्चिमसम्म पुग्न सक्दैन, त्यसको हामी खोजी गर्न चाहन्छौँ। अहिले निजी क्षेत्रको ठूलठूलो लगानी लुम्बिनी प्रदेशको बाँकेसम्म मात्रै पुगेको छ। त्योभन्दा पश्चिम सर्नै सकेको छैन।’
उनले निजी क्षेत्रलाई ढुक्क भएर सुदूरपश्चिममा लगानी गर्न आग्रह गरे। निजी क्षेत्रलाई जग्गा, सडक, विद्युत् लगायतका पूर्वाधार प्रदेश सरकारले उपलब्ध गराउने उनले जानकारी दिए।सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्न लागेको छ। सोही सम्मेलनको बारेमा प्रदेश सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग अन्तरसंवाद गरेको हो।




