काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको कार्यतालिकाबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। सभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै उनले भदौ १४ देखि १८ सम्म चीनको ५ दिने औपचारिक भ्रमणबारे जानकारी गराएका हुन्।
उनले चीनको थियानचिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन एससिओ शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जानकारी दिए।
उनले भ्रमणको मूल उद्देश्य एससिओ सम्मेलनमा नेपालको दृष्टिकोण र प्राथमिकता प्रस्तुत गर्नु रहेको बताए। उनका अनुसार भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा उपराष्ट्रपति हान चङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ।एससिओ शिखर सम्मेलनका दौरान विभिन्न मित्र राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग नेपालसँग सम्बन्धित द्विपक्षीय तथा अन्य प्राथमिकताका विषयमा छलफल हुने उनले जानकारी दिए।
उनले बेइजिङमा आयोजित फासिवाद विरोधी युद्ध र जापानी अतिक्रमण विरुद्धको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने समेत बताए।
प्रधानमन्त्री ओलीले भ्रमणबाट नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने र अन्ताराष्ट्रिय मञ्चमा नेपालको अवधारणा र प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे।
प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार ०३:११




