पोखरा ।
सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ ।
आज बिहान ठूला ढुंगासहित सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिए ।
सडक दुईतर्फी बन्द भएको र अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । तर, पहिरो खस्ने क्रम नारोकिएकाले सडक खुलाउन दईदेखि तीन घण्टासम्म लाग्न सक्ने जनाइएको छ ।
अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ ।
सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका यातायातका साधन अलपत्र परेका छन् ।
काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग बन्द हुँदा अहिले सवारीसाधनको जाम भएको छ ।
प्रकाशित मिति २०८२ भदौ १४ गते शनिबार ०८:५८