काडमाडौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै एकजुट भइ सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरुसँग आह्वान गरेका छन् ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको उल्लेख गरे बरु अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने उनको भनाई छ ।
सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने कामले मात्रै दलितहरुले अधिकार नपाउने उनले बताए । उनले आफ्नो शान पहिलाको जस्तो नरहेको पनि स्वीकार गरे । विगतमा निर्वाचनमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर गएको उनले स्मरण गरे ।
अध्यक्ष प्रचण्डले भने , हामी सबै एक ढिक्का भएर सडकमा जाने हो । हामी आन्दोलनमा जाने हो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने अब । नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरुले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन ।
हामीलाई शक्ति चाहिन्छ । हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो होइन नि । राप थियो, ताप थियो, वाइसिएल थियो, सेना थियो । क्यान्टेनमेण्ट भएपनि बन्दुक नै थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त । अहिले त छैन ।’
अध्यक्ष प्रचण्डले फेरि सेना बनाउनुपर्ने भन्नेकुरा आफूले नभनेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन जरुरी रहेको बताए । उनले चाडपर्व सकिएपछि सडकलाई नै मुख्य रुपमा प्रयोग गरेर अघि बढ्ने उल्लेख गरे ।
प्रकाशित मिति २०८२ भदौ १४ गते शनिबार ०४:२६




