पोखरा शाखाका ५२७ जनामध्ये एक लाख मूनि बचत रहेका १५८ जनालाई रकम फिर्ता
पोखरा ।
बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाले एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता दिने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ ।
बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको सहकारीले बागलुङमा एक लाखमूनिका सबै बचतकर्तालाई रकम फिर्ता दिइसकेको र पोखराका १ सय ५८ जनालाई फिर्ता दिन थालिएको सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार बागलुङका ६ सय १३ जनाको करिब ५ करोड रुपैयाँ फिर्ता गरिसकिएको छ ।
सोमबार पोखरा शाखाका ५२७ जनामध्ये एक लाख मूनि बचत रहेका १५८ जनालाई रकम फिर्ता गर्न थालिएको कार्कीले बताए । उनीहरुको करिब एक करोड रुपैयाँ फिर्ता गर्नुेपर्ने उनको भनाइ छ ।
उक्त सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङ र पोखरामा १ हजार ५७४ बचतकर्ताको १ अर्ब ९५ करोड रुपैयाँ डुबेको अदालत दायर भएको अभियोग पत्रमा उल्लेख गरिएको थियो । हालसम्म १ हजार ५०६ जनासँग मिलापत्र भइसकेको पीडित संघर्ष समितिका संयोजक कार्कीले बताए । एक लाख मूनि बचत रहेकाहरुको बचत फिर्ता गरिसकिएको र एक लाखभन्दा माथि रहेकाहरुको हकमा भने मिलापत्र गरिएको कार्कीले बताए ।
एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्लीको मुल्यको घर घडेरी उपलब्ध गराउने उनको भनाइ छ ।
समितिले पर्वतको मिना ग्रुप प्रालिसँग सहकार्य गरी बचतकर्ताको रकम फिर्ता गरेको हो । बचतकर्ताको रकम फिर्ता गरेवाफत् सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा प्रालिलाई हस्तान्तरण गर्ने सम्झौता भएको समितिका संयोजक कार्कीले बताए ।





