२०८३ असोज २५ गते आइतबार

गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीस्तरीय बैठकः विकासका लागि कानूनी र नीतिगत एकरुपता कायम गर्ने

गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीस्तरीय बैठकः विकासका लागि कानूनी र नीतिगत एकरुपता कायम गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १६ गते सोमबार ०३:४६

बजेटमा सम्बोधन भएका साझा निर्णय एवम् प्रतिवद्धताको विवरण तयार गर्ने बैठकको निर्णय

पोखरा ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारबिच भएको समन्वयात्मक बैठकले प्रदेशको विकासका लागि कानूनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने निर्णय गरेको छ । स्याङ्जा गल्याङ नगरपालिका १, मालुङ्गा उत्तरबाहिनीमा सोमबार बसेको बैठकले जिम्मेवारी, भूमिका तथा अधिकारलाई ध्यानमा राखी एकरुपता कायम गर्दै जाने निर्णय गरेको हो ।
बैठकमा गत माघमा भएको पहिलो संयुक्त बैठकमा गरिएका २१ बुँदाका प्रतिवद्धताको कार्यान्वयनको समीक्षा गरिएको थियो । थप प्रभावकारी बनाउन दुवै प्रदेशका योजना आयोगले संयुक्त रूपमा सरोकारवाला सबै पक्षको सहभागितामा तीन महिनाभित्र कार्ययोजना बनाई पेश गर्न बैठकले निर्देशन दिने निर्णय गरेको हो ।
यस्तै बजेटमा सम्बोधन भएका साझा निर्णय एवम् प्रतिवद्धताको विवरण तयार गर्नेसमेत बैठकले निर्णय गरेको छ । बैठकले दुवै प्रदेशको धार्मिक पर्यटन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने दामोदरकुण्ड कृष्णागण्डकी उत्तरवाहिनी लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्न दुवै प्रदेशको पर्यटन हेर्ने मन्त्रालयको समन्वयमा प्रक्रिया अघि बढाउने निर्णय गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
अन्तर प्रदेश साझेदारीमा सञ्चालन हुने भनी पहिचान गरिएका कार्यक्रमको खाका तयार गर्ने र असोज २१ देखि कार्त्तिक १९ गतेसम्म उत्तरबाहिनी क्षेत्रमा सञ्चालन हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सव भव्य रूपमा सफल बनाउन प्रदेश सरकारबाट सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

 

प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०३:४६
हजुरको प्रतिक्रिया