काठमाडौं ।
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक , २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ ।
सभाको बुधवारको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गरेका थिए । छलफल सहभागि हुँदै सांसदहरुले विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्याहरु हटेर जाने विश्वास व्यक्त गरे ।
आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरुको विश्वास छ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै यसको समर्थन गरे । उनले विधेयकले नागरिकसम्बन्धी नागरिकले भोग्दै आएका सबै प्रकारका कानूनी अप्ठ्याराहरु अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
यस्तै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकको समर्थन गरे । उनले विधेयकले महिलाको सम्मान गरेको उल्लेख गरे । संविधानमा व्यवस्था भएपनि व्यवहारमा लागू नभएका कारण नागरिकले भोग्नुपरेको दुःखको यस विधेयकले अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
बालबालिकालाई परिचयपत्र दिने व्यवस्था पनि विधेयकको महत्वपूर्ण विषय भएको उनको भनाइ छ । सरकारले आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न नागरिकता ऐन संशोधन गर्नको लागि विधेयक ल्याएको हो । विधेयक पास भइसकेपछि बाबुले असहयोग गरेका तथा पहचिान नै नभएका नागरिकले समेत आमाको नामबाट मात्रै पनि नागरिकता पाउनेछन् ।
प्रकाशित मिति २०८२ भदौ १८ गते बुधबार ०७:२९




