२०८३ असोज २५ गते आइतबार

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा समूहगत छलफल सकियो

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा समूहगत छलफल सकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २१ गते शनिबार ०७:२९

 पूर्वराष्ट्रपति भण्डारीबारे फरक मत राख्ने नेता कर्ण थापाको तयारीमा अध्यक्ष ओलीको रोक

काठमाडौं ।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गतको समूहगत छलफल सकिएको छ ।

शुक्रबारदेखि चलिरहेको विधान महाधिवेशनमा आज दुई हजार एक सय २६ प्रतिनिधिलाई १० वटा समूह बनाएर समुहगत छलफल गरेको हो । समूहमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथी छलफल गराइएको थियो ।

समूहमा धेरैलाई बोल्न दिइएको थिएन । समूहको छलफल सकेर सांस्कृतिक कार्यक्रम भइरहेको छ । अब प्रतिनिधिहरूले दिएको सुझावलाई भोलि बस्ने बैठकमा समूह संयोजकले प्रस्तुत गर्नेछन् ।

यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित फरक मत राख्ने नेता कर्ण थापाको तयारीमा नेतृत्वले रोक लगाएको छ । विधान महाधिवेशनको दोस्रो दिन थापा फरक मत वाचनका लागि मञ्चमा गएका थिए । स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापालाई फरक मत पढ्न दिने कार्यसूची हिजै तय भएको थियो । तर आज अध्यक्ष केपी शर्मा ओलीले वाचन गर्न रोक लगाएका हुन् ।

थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक मत तीन दिनअघि पार्टी केन्द्रीय कार्यालयमा पेश गरेका थिए ।

थापाको फरक मत महाधिवेशनमा प्रस्तुत गर्न नदिइए पनि प्रतिनिधिलाई वितरण भने गरिएको थियो ।

गोदावरीमा हिजोदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी कुल दुई हजार तीन सय ४१ जनाको सहभागिता छ ।

प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार ०७:२९
हजुरको प्रतिक्रिया