पोखरा ।
भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दैछ ।
नेपालमा आज राति १० बजेर ११ मिनेटमा चन्द्रग्रहण शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
पञ्चांगहरूका अनुसार १० बजेर ११ मिनेटमा ग्रहण स्पर्श, ११ बजेर १५ मिनेटमा सम्मीलन, ११ बजेर ५६ मिनेटमा मध्य, १२ बजेर ३८ मिनेटमा उन्मिलन र १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ ।
नेपाल, भारतसहित एसियाका धेरै देशबाट यो ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने जनाइएको छ । ।
फलित ज्योतिशास्त्रअनुसार मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकालाई ग्रहण नहेर्न निर्देश गरिएको छ ।
अन्य राशिकाले भने हेर्न सक्ने बताइएको छ । मेष राशि भएकालाई लाभ, वृषलाई सुख, मिथुनलाई माननाश र कर्कटलाई कष्ट फल रहेको बताइएको छ ।
यस्तै सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता र वृश्चिकलाई व्यथा फलादेश गरिएको छ । धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएकालाई व्यय फल प्राप्त हुने बताइएको छ ।
पौराणिक मान्यताअनुसार ग्रहणको केही समयअघिदेखि सुतक लाग्छ ।
दिउँसो १ बजेर ११ मिनेटदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ ।
चन्द्रग्रहण अवधिमा शयन, खानपिन तथा मैथुन जस्ता कार्यलाई निषेध गरिएको छ ।
यो वर्ष फागुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने पञ्चांगमा उल्लेख छ ।
प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०९:०९




