२०८३ असोज २४ गते शनिबार

‘जेनजी’ भर्सेज सरकार ! कस्तो हाेला भाेलीकाे जेनजी विद्रोह’ ?

‘जेनजी’ भर्सेज सरकार ! कस्तो हाेला भाेलीकाे जेनजी विद्रोह’ ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २२ गते आइतबार ०५:५१

स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नारा लिएको छ । यही आवाज लिएर सडकमा उत्रने भएको छ ।

काठमाडौं ।
‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बर अर्थात भाेली भदाै २३ साेमबारको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेको छ । सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।

उनीहरूले सोमबार बानेश्वर हुँदै माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् । उद्देश्य छ सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ ।

टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ ।

नेपाल फेरि एकपटक युवाले उठाएको नयाँ आन्दोलनको तयारीमा रहेको बुझाइ पनि कतिपयको छ । सामाजिक सञ्जालमार्फत सुरु भएको आवाजले सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर, पोखराको सभागृह हलदेखि देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतमा पनि इनरुवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरिएका छन् । यसमा अधिकांशको समर्थन देखिन्छ । न कुनै राजनीतिक दल, न कुनै संगठनको झण्डा । स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नारा लिएको छ । यही आवाज लिएर सडकमा उत्रने भएको छ ।

पछिल्ला आक्रोशलाई हेर्दा विशेषगरी सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारलाई लिएर उनीहरू असन्तुष्ट देखिन्छन् ।

नेपालसम्म यसरी यो अभियान आउनुमा फिलिपिन्स र इन्डोनेसियामा चलेको यस्तै अभियानलाई कारण मान्न सकिन्छ ।

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका ‘स्टोरिज’मा पनि यो अभियानले व्यापकता पाएको छ । त्यसमा एउटा पोस्ट राखिएको छ, जसमा सबैलाई रिपोस्ट गर्न अनुरोध गरिएको छ । यसरी पोस्ट गरिएका स्टोरीमा जाँदा ‘एड योर्स’ भन्ने बटन देखिन्छ । त्यसमा थिचेपछि आफ्नो फेसबुक स्टोरीमा पनि सोही कुरा पोस्ट हुन्छ ।

उक्त पोस्टमा लेखिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रताको जति नै गफ दिएपनि नेताहरु हाम्रो आवाज दबाउन चाहन्छन् । हुँदाहुँदा अहिले आएर सामाजिक सञ्जाल नै बन्द गरिदिए । कस्तो लाजमर्दो । अब हामी चुप बस्दैनौँ– इनफ इज इनफ ।’

यो आन्दोलनको जरो सामाजिक सञ्जाल टिकटक भित्र देखिएको ट्रेन्डसँग जोडिएको छ । फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो ट्रेन्ड नेपालमा समेत फैलिएको हो । यसमा नेताका छोराछोरीले प्रदर्शन गर्ने ऐसआरामको जीवनशैली– महँगा ब्रान्डका कपडा, विदेश यात्रा र विलासी सामानलाई साधारण नेपाली युवाको आर्थिक संघर्षसँग तुलना गरिएको छ ।

यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल देखाइदिएपछि युवाहरू अझै आक्रोशित भएका हुन् । यसलाई ‘नेपो बेबी’ ट्रेण्ड नाम दिइएको छ, जसमा विभिन्न धुन र भावनात्मक रुपमा उत्तेजित गराउने संगीत राख्दै नेताका छोराछोरीको विलाशितालाई देखाइएको छ । उनीहरुको विलाशितासँगै जनताका छोराछोरीको अवस्थालाई पनि देखाइन्छ ।

सामाजिक सञ्जाल टिकटकसँगै रेडिटमा पनि यो ट्रेण्ड बढ्दो छ । यसमा ह्यासट्याग ‘नो मोर करप्सन, वेक अप च्यालेन्ज’ जस्ता अभियान चलाइएको छ । नेताका छोरीछोरीको विदेश शयर, विलासी सामान प्रयोगदेखि अन्य ऐसआराम देखाइँदा नागरिकका छोराछोरी विदेशिइरहेको, काठका बाकसमा लास भित्रिएको, अनि गाउँघरमा दु:ख पाएका दृश्य देखाइएको छ ।

नयाँ पुस्ताको याे आन्दोलन कुनैपनि दल, व्यक्ति र विचारसमूहकाे धमिलाे पानीमा माछा मार्ने खेल नबनाेस् भन्ने उद्देश्य रहेपनि याे आन्दोलनमा विभिन्न व्यक्तिहरूले समर्थन जनाउने तथा कतिपय त आन्दोलनमै सरिक हुने उल्लेख गरिरहेका छन् ।

मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘जेनजी’ युवाहरूले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएका प्रसाइँको अहिले पनि मुद्दा चलिरहेको छ ।

धरौटीमा रिहा भएका प्रसाईं अहिले युवाहरुले सामाजिक सञ्जाल बन्द लगायत विरोधमा गर्न लागेको आन्दोलनमा मिसिने घोषणा गरेका हुन् । ‘देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्,’ प्रसाईंले भनेका छन् ।

उनले फेसबुकमा गरेको पोस्टमा धेरैले कमेन्ट गर्दै उक्त आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा सोमबार हुने प्रदर्शनमा आफ्नो समर्थन रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले स्वतस्पूर्त हुन लागेको जेनजीको प्रदर्शनमा आफ्नो भरपुर समर्थन रहेको बताएका हुन्। उनले जेनजीहरू २८ वर्ष मुनिहरू हुने र आफू त्यो भन्दा बुढो देखिने भन्दै जेनजीहरूको कुरा बुझ्न मन लागेको पनि बताएका छन्।

बालेनले जेनजीले कस्तो देश चाहेको हो भनेर प्रश्न पनि गरेका छन्। उनको प्रश्न छ, ‘प्रिय जेनजी भन्नुस्- तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?’

यता, सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सोमबार सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले कसैले विधि, कानुन उल्लघंन गर्न नपाउने टिप्पणी गरेका हुन् ।

ललितपुरको गोदावरी भएकाे एमालेको दोस्रो विधान महाधिवेशन टुंग्याउनेक्रममा ओलीले नयाँ पुस्ता राष्ट्रियताप्रति सचेत, अनि विधि कानुनबारे स्पष्ट छ भन्ने अपेक्षा आफूले राखेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ । देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको समूह ‘जागौँ नेपाल अभियान’ ले सोमबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न अनुमति पाएको छ।

भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेको सो समूहले जनाएको छ।

समूहका संयोगक सबल गौतम र पुरुषोत्तम यादवले सो जानकारी दिएका हुन्।

सरकारकाे सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरूद्द अहिले व्यापक विराेध भइरहेकाे छ । विपक्षमा रहेका पत्रकारहरूले समेत याे विरोध प्रदर्शनमा सहयाेग गर्ने निश्चित छ । कतै, याे विरोध प्रदर्शन सरकार भर्सेज अन्य सवैको हुने त हाेइन ?

प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०५:५१
हजुरको प्रतिक्रिया