लमजुङ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सधैं जनतासँगै रहेको र फेरि जनताको बलमा सत्ता र नेतृत्वमा फर्किने विश्वास व्यक्त गरेका छन् ।
लम्जुङको भोटेओडरमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा अध्यक्ष दाहालले फेरि जनताको बलमा सत्ता र नेतृत्वमा फर्किने विश्वास व्यक्त गरेका हुन् । उनले राम्रो काम गर्ने माओवादीलाई भन्दा भ्रष्टाचार गर्नेहरूलाई भोट दिने परम्परा अब तोड्नुपर्ने बेला आएको उल्लेख गरे ।
उनले सरकारमा रहेर सुशासनको अभियान चलाएको, मिटब्र्याज पीडितलाई न्याय दिने गरी पहिलोपटक ऐन ल्याएको, सामाजिक न्याय, नागरिकता समस्या समाधानदेखि छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्धलाई राष्ट्रिय हितमा अघि बढाएको स्मरण गरे । अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बैतडीदेखि लम्जुङसम्म आइपुग्दा भेटिएका समस्याहरू समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लम्जुङको जल, जमीन र वनको सदुपयोग गर्न सके कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले कृषि र सूचना प्रविधिलाई अग्रणी क्षेत्र बनाउन सरकारमा रहँदा विशेष प्राथमिकता दिएको जिकिर गरे ।
अध्यक्ष प्रचण्डले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको, बेपत्ता परिवारलाई राहत दिने गरी सत्य निरूपण तथा बेपत्ता आयोगको प्रक्रिया अघि बढाइएको र त्यसलाई कार्यान्वयन गरेर विशेष सुविधा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०७:५०




