२०८३ साउन २१ गते बिहीबार

अन्तरिम सरकारले निर्वाचन, सुशासनसहितका अपेक्षा पूरा नभए प्रतिरोध हुन्छ : रास्वपा

अन्तरिम सरकारले निर्वाचन, सुशासनसहितका अपेक्षा पूरा नभए प्रतिरोध हुन्छ : रास्वपा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २९ गते आइतबार ०८:५८

महामन्त्री बुर्लाकोटीले भ्रष्टचार र कुशासनको विरुद्ध रास्वपा स्थापनाकालदेखि नै संघर्षशील रहेको उल्लेख गरेका छन् । साथै रास्वपाले जेनजी आन्दोलन चर्किँदै गएपछि भदौ २६ गते नै आफूहरूले मध्यावधि निर्वाचनमा जाने प्रस्ताव गरेको स्मरण गराएको छ ।

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तरिम सरकारबाट गरिएको निर्वाचन, सुशासनसहितका अपेक्षा पूरा नभए प्रतिरोध हुने चेतावनी दिएको छ ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शनिबार एक विज्ञप्ति जारी गर्दै फागुन २१ का लागि तोकिएको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण लगायतका अपेक्षा पूरा नभए प्रतिरोध हुने चेतावनी दिएका हुन् ।

महामन्त्री बुर्लाकोटीले भ्रष्टचार र कुशासनको विरुद्ध रास्वपा स्थापनाकालदेखि नै संघर्षशील रहेको उल्लेख गरेका छन् । साथै रास्वपाले जेनजी आन्दोलन चर्किँदै गएपछि भदौ २६ गते नै आफूहरूले मध्यावधि निर्वाचनमा जाने प्रस्ताव गरेको स्मरण गराएको छ ।

राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्ने अघिल्लो विज्ञप्ति स्मरण गराउँदै महामन्त्री बुर्लाकोटीले उल्लेख गरेका छन् ।

फागुन २१ का लागि तोकिएको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ ।

यी घोषित लक्ष्यहरूबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवद्र्धनमा रास्वपा सधैं सहयोगी भूमिकामा रहने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ भदौ २९ गते आइतबार ०८:५८
हजुरको प्रतिक्रिया