काठमाडौं ।
मनाङको प्रदेश सभा क्षेत्र नम्बर २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले सोमबार प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरेको छ । तर, मनाङको प्रदेश सभा क्षेत्र २ मा उपनिर्वाचन गर्ने विषयमा केही निर्णय भएको छैन । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले प्रतिनिधि सभा विघटन भएकोले प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरेको बताए ।
४ मंसिर २०७९ मा सम्पन्न प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो । यही मुद्दामा सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो । त्यसयता मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त छ ।
रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरिएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
आयोगले आगामी १७ कात्तिकमा यस क्षेत्रमा उपनिर्वाचन गर्ने गरी तयारी गरिरहेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी २१ फागुनमा नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएकोले उपनिर्वाचन सम्बन्धी बाँकी कार्यक्रमहरू रद्द गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा छ । आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचनका सबै कार्यक्रम रद्द गर्ने निर्णय भएको हो ।
प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार ०८:०३




