पोखरा ।
मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु भएको छ ।
ठूलो पानी परेका कारण हिजो साँझ ६ बजेपछि पहिरो पन्छाउने काम रोकिएको थियो ।
मंगलबार दिउँसो तुइन खोला पुल नजिकै खसेको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द छ ।
पहिरो पन्छाउन कति समय लाग्छ भन्ने यकिन नभएकाले वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । आज पानी परेन भने भोलि रातिसम्म पहिरो पन्छाएर शनिबार बिहानसम्म यातायात सञ्चालन गर्न सकिने जनाइएको छ ।
सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।
मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।
गत शुक्रबार साँझ पहिरो खस्दा करिब ४६ घण्टा यो सडक बन्द भएको थियो ।
सडक बन्द हुँदा सबैभन्दा बढी दशैंको बेला घर जाने हजारौं यात्रु मारमा परेका छन् ।
प्रकाशित मिति २०८२ असोज ९ गते बिहीबार ०९:१६