जेनजी प्रदर्शनका क्रममा भएको क्षतिका विषयमा उठेका प्रश्नमा समीक्षा हुने
पोखरा ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक भक्तपुरको गुन्डुमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेको बैठक बस्न लागेको हो ।
आज बस्ने सचिवालय बैठकमा जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने भएको छ ।
२३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनमा ७४ को मृत्यु भएको थियो भने दुई हजार बढी घाइते भएका थिए ।
जेन-जी आन्दोलनमा मानवीय क्षति हुनुमा ओलीले घुसपैठ भएको दाबी गरेका छन् ।
जेन-जी आन्दोलनपछि ३ असोजमा पहिलो पटक धारणा सार्वजनिक गर्दै ओली सरकारले ‘ताकीताकी’ गोली चलाउने आदेश नदिएको दाबी गरेका थिए ।
जेन-जी आन्दोलनको गम्भीर समीक्षा हुनुपर्ने एमालेभित्र माग छ । जेन-जी आन्दोलनप्रति सरकारको बेवास्ताका कारण राजनीतिक संकट आएको एमालेकै केही नेताको विश्लेषण छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा हुने र आगामी कार्यक्रम तय हुने बताए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जेन-जी आन्दोलनपछि बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाबारे गम्भीर समीक्षा गरी आवश्यक निर्णय गर्ने बताए ।
शनिबार गुन्डुमा आयोजित सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका ओलीले जेन-जी आन्दोलनमा क्षति नहोस् भनेर निर्देशन दिए पनि स्थिति आफ्नो हातभन्दा बाहिर गएको बताएका थिए ।
उनले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने पनि जनाए । सरकार संवैधानिक बाटोबाट नबनेको आरोपसमेत लगाए ।
जेन-जी आन्दोलनमा क्षति हुनुमा आफूले कुनै षड्यन्त्र नगरेको ओलीको भनाइ थियो ।
प्रकाशित मिति २०८२ असोज १२ गते आइतबार ०९:०४




