पोखरा ।
बाढी पहिरोका कारण बागमती र कोशी प्रदेशका केही सडक अझै अवरुद्ध छन् ।
संखुवासभामा पर्ने कोशी राजमार्ग, ओखलढुंगा र उदयपुरमा पर्ने सिद्धिचरण राजमार्ग, धनकुटामा पर्ने मध्यपहाडी र कोशी राजमार्ग र इलाममा पर्ने मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
यस्तै रसुवाको गोसाईंकुण्डमा पासाङल्हामु सडक, सिन्धुपाल्चोकको भोटेकोशीमा अरनिको राजमार्ग, काभ्रेको रोशीमा बीपी राजमार्ग, मकवानपुरमा पर्ने कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी सडकखण्ड तथा सिन्धुलीमा पर्ने बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि पूर्ण रुपमा बन्द छ ।
केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले आग्रह गरेको छ ।
विभागका अनुसार पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या छ ।
यसैगरी मेची राजमार्गको इलाम खण्डमा धेरै समस्या आएको र बीपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागको भनाइ छ ।
गएको वर्ष असोज दोस्रो हप्ताको बाढीले क्षति गरेपछि बिपी राजमार्गका करिब डेढ दर्जन ठाउँमा ‘डाइभर्सन’ गरिएको थियो ।
यस वर्ष ती संरचना भत्काएकाले बाढी सामान्य अवस्थामा फर्केपछि काम शुरू गरिने विभागले जनाएको छ ।





