पोखरा ।
आज कुकुर तिहार मनाइएको छ । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ।
यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो ।
यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको वाहन पनि भनिन्छ ।
त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको छ ।
कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ ।
परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् ।
सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत कुकुरले साथ दिएको कथन छ। मानव जातिसँंग कुकुरको घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले आफ्ना तालिमप्राप्त कुकुरहरुलाई पूजा गरी मनाएका छन् ।
साथै नेपालीहरुले आफ्नो आफ्नो घरमा कुकुरको पूजा गरी टीका र माला लगाइ दिएर खानेकुरा दिइ पूजा गरेका छन्।
प्रकाशित मिति २०८२ कात्तिक ४ गते सोमबार १२:४४




