पाँच सयभन्दा धेरै पर्यटक उतै राेकिए
पोखरा ।
विगत केहि दिनदेखि जारी पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण परेकाे वर्षा र हिमपातले गण्डकी प्रदेशकाे उपल्लाे मुस्ताङमा पाँच सयभन्दा धेरै पर्यटक र सयाैं सवारी साधनहरू राेकिएका छन् ।
भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ विच्छेद हुन पुगेकाे उधाेग वाणिज्य संघ मुस्ताङका अध्यक्ष राजु लालचनले जानकारी दिएका छन् । उपल्लो मुस्ताङ जाने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकखण्ड ठाउँ ठाउँमा भासिएकाे तथा पानीले खाेतलेर बाटाे बिगारेकाे लालचनले बताए ।
वर्षासँगै परेको हिमपातका कारण बागबेनी कटेर छुसाङदेखि माथि सडक, बिजुली र इन्टेरनेटसमेत अवरुद्ध हुन पुगेको हो । लोमान्थाङलगायत उपल्लो मुस्ताङका बस्तीहरुमा ११/१२ गतेदेखि नै सडक र सञ्चारसम्पर्क विच्छेद हुन पुगेको हो भने शनिबारदेखि छुसाङ र दामोदरकुण्ड क्षेत्र सम्पर्कविच्छेद भएको हो ।
मुस्ताङ प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाका अनुसार त्यहाँका प्रहरी चौकी भने सम्पर्कमा आएका छन् । लामाकाअनुसार छुसाङदेखि माथि आधा दर्जनभन्दा धेरै ठूला ठूला पहिरो खसेका छन् र जेसिबी लगाउने काम थालिएको छ । तर, पूरै पहिरो पन्छाउन अझै केही दिन लाग्ने छ ।
मुस्ताङमा कात्तिक ११ गतेदेखि वर्षासँगै हिमपात हुँदा घुम्न पुगेका थिए । मुस्ताङमा १० दिनमै ४० हजारसम्म पर्यटक घुम्न पुगेका थिए । मोटरसाइकल, आफ्नै गाडी र सार्वजनिक गाडीसमेत चिनियाँ नाका कोरोलासम्मै पुग्ने भएकाले दसैं, तिहारलगत्तै मुस्ताङमा पर्यटक ओइरिए ।
वारागुङ मुक्तिक्षेत्रदेखि माथि वर्षा र हिमपातले पहिरो बगाउने, भृडा-च्यांग्राजस्ता चौपया मर्ने, केही पूर्वाधारमा क्षतिसमेत पुयाएको छ ।
मुस्ताङमा हिमपातले किसानलाई उत्साहित बनाए पनि प्राकृतिक जोखिम पनि सँगै बढाएको भन्दै प्रशासनले सचेत गराइरहेको छ । तर, सोभन्दा अगाडि नै घुम्न अपर मुस्ताङ पुगेका पर्यटक रोकिंदा आफन्त तथा परिवार चिन्तित बनेका हुन् ।
मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनपछि सम्पर्कमा आएका थिए । उपल्लो मुस्ताङ पुगेका साढे पाँच सयभन्दा बढी पर्यटकसँग सम्पर्क विच्छेद हुन सक्ने आँकडा निकालिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
जोमसोम-कागबेनी सडकखण्ड भने सञ्चालनमा आइसकेको छ । मुक्तिनाथसम्म जान चाहने दर्शनार्थीका लागि भने सडक सुचारू भएकाे भुसालले बताए ।
प्रकाशित मिति २०८२ कात्तिक १७ गते आइतबार ०९:३०




