काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ ।
सौराहास्थित सभा हलमा हुने बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिए ।
बैठकमा केन्द्रीय समिति सहित प्रदेश, जिल्ला तथा क्षेत्रका पदाधिकारीहरू प्रतिनिधिकारुपमा सहभागी हुँदै छन् ।
पार्टीको आगामी रणनीति तय गर्न आजदेखि सुरु हुने बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागि हुने पार्टी सचिवालय सदस्य हरी ढकालले बताए ।
बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।
विस्तारित बैठकमा सहभागीताका लागि पार्टीले १५ सय रुपैयाँ शुल्क तोकेको छ ।
तर त्यसभन्दा अघि पार्टीका केन्द्रीय सदस्य, विभागका पदाधिकारी तथा सदस्यहरूले अनिवार्य लेबी तिरेको हुनुपर्ने रास्वपाका कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।
रास्वपाले केन्द्रीय सदस्यका लागि वार्षिक २५ हजार रुपैयाँ र विभागका सदस्यहरूका लागि १५ हजार रुपैयाँ तोकेको छ ।
प्रकाशित मिति २०८२ कात्तिक २२ गते शुक्रबार ०९:१७




