२०८३ साउन २१ गते बिहीबार

श्रम क्षेत्र गहिरो संकटमा परेको श्रमिक नेताहरुको भनाई

श्रम क्षेत्र गहिरो संकटमा परेको श्रमिक नेताहरुको भनाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ५ गते बिहीबार ०३:१८

काठमाण्डौ । बदलिँदो आर्थिक तथा औद्योगिक परिस्थितिले श्रम र रोजगारी क्षेत्र गम्भीर संकटमा परिरहेको श्रमिक नेताहरूले बताएका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)द्वारा आयोजित ‘बदलिँदो परिवेशमा श्रम, रोजगारीका...

काठमाण्डौ ।

बदलिँदो आर्थिक तथा औद्योगिक परिस्थितिले श्रम र रोजगारी क्षेत्र गम्भीर संकटमा परिरहेको श्रमिक नेताहरूले बताएका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)द्वारा आयोजित ‘बदलिँदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय संवादमा उनीहरूले पर्यटनदेखि औद्योगिक उत्पादनसम्म क्षेत्रहरू कमजोर बन्दै गएको र यसको सीधा असर श्रमिकको जीवनस्तरमा परेको बताए।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले पछिल्ला आर्थिक उतार–चढावले श्रमिक “डिप्रेशनको सिकार” हुनुपर्ने अवस्था आएको बताए। उनले न्युनतम ज्याला कार्यान्वयन नहुनु, नर्सहरूलाई समेत आन्दोलन गर्नुपर्ने बाध्यता आउनु र सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रको न्युन सहभागिता श्रमिक अधिकारका गम्भीर समस्या भएको उल्लेख गरे। उनका अनुसार २६ लाख श्रमिक कोषमा आवद्ध भए पनि औपचारिक क्षेत्रका श्रमिक मात्र ६ लाख छन्।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले श्रम बजार अस्थिर हुनुको मुख्य कारण अनौपचारिक क्षेत्रको तीव्र वृद्धि भएको बताए। हाल ८५ प्रतिशतभन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा रहेकाले मर्यादित काम (डिसेन्ट वर्क) को अवधारणा कमजोर बन्दै गएको उनले बताए। बेरोजगारी, वैदेशिक रोजगारको दबाब र न्युनतम ज्याला लागू नहुनु सामाजिक सुरक्षा कार्यान्वयनको मूल बाधक भएको उनको भनाइ थियो।

कार्यक्रममा विश्लेषक डा. हरी शर्मा र नारायण भट्टराईले श्रम क्षेत्रको अव्यवस्था, अनौपचारिकीकरण, ज्याला कार्यान्वयन नहुँदा देखिएका चुनौती तथा सामाजिक सुरक्षा कोषको कमजोर सहभागिताबारे कार्यपत्र प्रस्तुत गरेका थिए। सहभागीहरूले श्रमिक हित र अधिकारका मुद्दामा राज्य र निजी क्षेत्र दुवै सक्रिय हुनुपर्ने सुझाव दिए।

प्रकाशित मिति २०८२ मंसिर ५ गते बिहीबार ०३:१८
हजुरको प्रतिक्रिया