काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताएका छन् ।
आईतबार काठमाडौंमा आयोजित सो पार्टीको घोषणा सभामा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेनजी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गरे ।
प्रलेपालाई जेन–जी पुस्ताको पार्टी हो भनेर नबुझने हो भने त्यसको कुनै अर्थ नहुने उनको जिकिर थियो । पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको आवाज र मागलाई सो पार्टीले पूरा गर्नुपर्ने बताए ।
उनले भने,‘यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो । र जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ । यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँडने हो भने हुँदैन । अबको यो पार्टीको एजेण्डा भनेको जेन–जी पुस्ताको चेतनासँग, त्यसको आवाजसँग, यो युगसँग जोडिएका कुराहरु यसले पूरा गर्नसक्छ कि सक्दैन ?’
पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरु मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको समेत बताए ।
प्रकाशित मिति २०८२ मंसिर ८ गते आइतबार ०५:०३




