२०८३ साउन २१ गते बिहीबार

लुटिएका हतियार र फरार कैदीहरु फिर्ता नल्याउँदासम्म शान्तीपूर्ण ढंगले निर्वाचन हुन सक्दैनः सांसदहरु

लुटिएका हतियार र फरार कैदीहरु फिर्ता नल्याउँदासम्म शान्तीपूर्ण ढंगले निर्वाचन हुन सक्दैनः सांसदहरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १२ गते बिहीबार ०५:०८

जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका कैदीबन्दी तथा लुटिएका हातहतियार समाजमै रहेको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न नसकिने धारणा राखे ।

काठमाडौं ।

राष्ट्रिय सभाका सांसदहरुले अगामी २१ फागुनमा घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुको यस्तो टिप्पणी गरेका हुन् ।

जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका कैदीबन्दी तथा लुटिएका हातहतियार समाजमै रहेको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न नसकिने धारणा राखे ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद युवराज शर्माले मुलुक हिंसात्मक बन्दै गएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराए ।

उनले पछिल्ला दिनमा महिला हिंसा, बलात्कार र हत्या जस्ता घटनामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा सरकार गम्भीर बन्न जरुरी रहेको बताए ।

उनले जेन–जीको नाममा केही समूहहरुले राजनीतिक दलहरुलाई शान्तीपूर्ण ढंगले कार्यक्रम समेत गर्न नदिएको भन्दै यस्तो अवस्थामा कसरी निर्वाचन हुन्छ ? भन्ने प्रश्न गरे ।

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई कुलमान घिसिङलाई मन्त्रीबाट हटाउन समेत आग्रह गरे ।

राजनीतिक दल खोलेर निर्वाचन लड्नको लागि स्रोतको छानविन गर्नुपर्ने भन्दै मन्त्री नियुक्तिको विषयमा पुनर्विचार गर्न उनको आग्रह छ ।

उनले भने, ‘माननीय गृहमन्त्रीज्यु नेपाली समाज एउटा हिंस्रक समाजको रुपमा रुपान्तरित भइसकेको देखिन्छ । अपराधको तथ्यांक हेर्दा, महिला हिंसा, बलात्कार र हत्याका घटनाहरु ह्वात्तै बढेको छ । त्यसमा पनि अपराधीहरु भोगका छन् । लुटिएका हतियारहरु अझै बाहिर नै छन् । दलहरुको शान्तीपूर्ण गतिविधि गर्दा जेनजीको नाममा गतिरोध गरिनु घरमै पुगेर मान्छेलाई जलाउने धम्की दिन्छ । कुनै जेनजी समूहको पत्रकार सम्मेलनमा माननीय मन्त्रीज्यूको समेत सहभागिता देखिन्छ भने त्यसलाई कसरी मान्ने ? मेरो व्यक्तिगत विचार कुनै नयाँ दल खोलेका माननीय मन्त्रीज्यूको सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूले पुर्नविचार गर्नुपर्दछ । एउटा निर्वाचन क्षेत्रमा न्युनतम १० लाख खर्च गर्न पाउने भनिएको छ । यसरी हेर्दा सबै क्षेत्रमा निर्वाचन लड्दा २५ देखि ३० करोड लाग्छ । ती माननीय मन्त्रीजीले त्यो पैसा जुटाउन कहाँबाट सक्नुहुन्छ । अनि अब मन्त्रीको औचित्य के रह्यो त ? यो पनि मेरो प्रश्न हो । आम निर्वाचनलाई धाँधलीरहित गराउन निर्वाचन केन्द्रको पारम्परिक ढाँचामा परिवर्तन अनिवार्य छ ।’

त्यस्तै नेकपा (एमाले)की सांसद रुक्मिणी कोईरालाले कैदीबन्दी फरार तथा हातहतियार समेत समाजमै रहेको अवस्थामा शान्तीपूर्ण ढंगले निर्वाचन हुन नसक्ने बताइन् ।

सरकारले अझै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न वातावरण निर्माण गरिनसकेको उनको भनाइ छ । हातहतियार र अपराधी समेत समाजमै रहेको अवस्थामा शान्तीपूर्ण निर्वाचन सम्भव छ ? भन्दै उनले प्रश्न समेत गरिन् ।
उनले भनिन्, ‘सरकारले निर्वाचन हुन्छ भनिरहेको बेलामा राजनीतिक दलहरुले पनि भोट माग्न तल नै पुग्नुपर्ने हुन्छ । हिजो लुटिएका सबै हतियारहरु पनि सबै समाजमै छन् । कारागारबाट भागेका कैदीबन्दीहरु समेत बाहिर नै रहेको अवस्था छ । सरकारले फिर्ता बोलाउने कार्य गरिरहेको भनेको छ । तर अझै पनि अधिकांशहरु बाहिर नै रहेको अवस्था छ । यस्तो अवस्थामा कसरी शान्तीपूर्ण ढंगले निर्वाचन हुन्छ त ? यसबारे मन्त्रीज्यूले प्रष्ट पारिदिनुपर्छ । मुलुकमा यस्तो समस्या भएको बेला निर्वाचन कसरी सम्पन्न गर्न सकिन्छ त प्रधानमन्त्रीज्यू ?’

बैठकमा बोल्दै समिति सभापति माया प्रसाद शर्माले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारले पूरा गर्न नसकेको टिप्पणी गरे ।

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन अपरिहार्य भएपनि सरकार र दलहरुले उचित वातावरण बनाउन नसकेको टिप्पणी गरे । सरकार र दलहरुले एकअर्कासँग निहुँ खोज्ने कार्य रोके घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सकिने पनि उनको भनाइ थियो ।

उनले भने, ‘अहिले निर्वाचन एकदमै अपरिहार्य आवश्यकता भएको छ । यो सरकारले भनिरहेको पनि छ । सरकारले समयमै निर्वाचन सम्पन्न गराउनु पनि पर्छ । तर राजनीतिक दलहरुले पनि संयमित भएको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउने भन्नेबारेमा सोच्नुपर्छ । नयाँ पुराना दलहरुले निहुँ खोज्दै नहिड्ने गर्नुपर्छ । सरकारले पनि निहुँ खोज्ने र खोज्न बाध्य पार्ने काम गर्नुहदुैन । यी सबै कुरामा सबै सरकार र दलहरु संयमित हुन सक्यौं भने घोषित मितिमा निर्वाचन हुन्छ जस्तो लाग्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरकारले घोािषत मितिमा निर्वाचन सम्पन्न गर्न लुटिएका हतियार भागेका कैदीहरु तत्काल फिर्ता ल्याउनुपर्ने धारणा धारणा राखे ।

दलहरुले शान्तीपूर्ण कार्यक्रम समेत गर्न नपाएको भन्दै उनीहरुले यस्तै अवस्थामा निर्वाचन सम्भव नरहेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति २०८२ मंसिर १२ गते बिहीबार ०५:०८
हजुरको प्रतिक्रिया