बागलुङ ।
नेपाली कम्युनिस्ट पार्टीका महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले देशको संकटलाई उचित व्यवस्थापन गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
बिहीबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व माओवादीले धेरै वर्ष अगाडिदेखि नै अहिले जेन्जी उठाएको मुद्धा उठाउँदै आएको उनको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टी गठनपछि पहिलो पटक बागलुङमा पत्रकार सम्मेलन भएको हो । यही मंसिर भित्र जिल्ला कार्यसमितिले पूर्णता पाउने बुढाले बताए ।
अहिले मुलुक संवेदनशील अवस्थामा रहेको भन्दै यो अवस्थामा सबै एकजुट हुनु पर्नेमा उनले जोड दिए । उनले सरकारले चुनाव गराउनुको विकल्प नभएको उल्लेख गरे ।
अब सबै दल चुनावमा केन्द्रित हुनु पर्ने भन्दै नेपाली कम्युनिस्ट पाटी लागि सकेको उनको भनाइ छ । चुनावपछि मात्रै देशमा शान्ति, सुरक्षा र स्थिरता कायम हुने बुढाले बताए ।
सो अवसरका नेपाली कम्युनिस्ट पार्टी बागलुङका नेता पिङ्कलराज गौतमले जिल्ला समितिलाई पूर्णता दिनका लागि प्रयास भइरहेको बताए । उनले केन्द्र र प्रदेशमा पनि अहिले समिति निर्माण कार्य भइरहेको हुँदा जिल्लामा पनि छिट्टै पूर्णता पाउने उनको भनाइ छ । कार्यक्रमको संचालन नेपाली कम्युनिस्ट पार्टी बागलुङका नेता प्रकाश घर्तीको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति २०८२ मंसिर १२ गते बिहीबार ०६:४८




