काठमाडौं ।
पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन् ।
रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनले बुधबार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
जेन–जी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरुलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरुबीच आपसि सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
उनले फराकिलो दृष्टिकोणसहित साझा एजेण्डामा आवद्ध हुन आग्रह गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गरिन् ।
उनले भनिन्, ‘धेरै जनाले सोध्छन् सुमना कहाँ छ ? सुमना एकतामा छ । वैकल्पिक शक्तिहरुबीच एकता हुनैपर्छ । पुरानो राजनीतिक संस्कार जसलाई फाल्नको लागि हाम्रा भाईबहिनिहरुले स्कुल युनिफर्ममा गोलि खाएर अपदस्त गरे उनीहरुलाई फेरी कुर्सिमा पुग्नबाट रोक्ने हामी सबैको दायित्व पनि हो । त्यसैले मैले सबैलाई अनुरोध गरे फराकिलो छाति राखौं । एजेण्डामा एकरुपता ल्याऔँ । एजेण्डामा सहकार्य गरेर अब यो देशलाई निकाश दिउँ । अबको बाटो सुशासनको बाटो हो । अबको बाटो विधिको बाटो हो । र अबको बाटो भनेको विभेदरहित समाज निर्माण तथा समान अवसरको प्रदान गर्ने समय हो ।’
उनले आफू वैकल्पिक शक्तिहरुलाई एकतामा ल्याउने कार्यमा व्यस्त रहेको समेत बताइन् । सो अवसरमा उनले नेपाललाई नागरिकको पार्टी बनोस् भन्ने शुभकामना समेत दिइन् ।
प्रकाशित मिति २०८२ मंसिर १८ गते बुधबार ०५:२२




