पोखरा ।
रूपा गाउँपालिका–६ मोहोरिया स्थित कौशिला देवी मन्दिरको पुनःनिर्माण पछि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि समाजसेवी क्या. चन्द्रजंग गुरूङले रिबन काटेर मन्दिरको उद्घाटन गरेका हुन्।
कार्यक्रममा विदेशमा रहेर पनि गाउँका गतिविधिमा निरन्तर साथ प्रदान गर्दै आएका युके निवासी तथा मन्दिरका पूर्व पुजारी रुद्र घोताने विशेष अतिथिका रूपमा उपस्थित थिए।
कौशिला देवी पुनःनिर्माण समितिका अध्यक्ष गेश बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममार्फत समितिका कोषाध्यक्ष होट बहादुर गुरूङले देश–विदेशमा रहेका मोहोरिया गाउँका व्यक्तित्व र चेलीबेटीबाट संकलित सहयोग रकमको विस्तृत विवरण जानकारी गराएका थिए । उनका अनुसार कौशिला देवी मन्दिर, भयेर थान, जमिन सम्याउने, रेलिङ निर्माण तथा मार्ग निर्माणका लागि संकलन भएको रकम ५१ लाखभन्दा बढी रहेको र त्यसमध्ये ४३ लाख खर्च भइसकेको जानकारी गराए। बाँकी रकमले छिट्टै थप काम सुरु गरिने पनि उनले बताए।
मन्दिरका मुख्य मूर्ति स्व. पाइलट चेत बहादुर गुरूङको स्मृतिमा उनकी धर्मपत्नी पुनम गुरूङले प्रदान गरेकी हुन् भने दुवै मन्दिरका गजुर मन बहादुर गुरूङले अर्पण गरेका थिए।
कार्यक्रममा मन्दिरको इतिहासबारे जानकारी दिँदै बेल बहादुर गुरूङले पुर्खाको पालादेखि नै यो मन्दिर रहिआएको उल्लेख गर्दै यहाँ पूजा–अर्चना तथा भाकल गरे मनोकामना पूरा हुने विश्वासका कारण गाउँकै पहिचानसँग जोडिएको स्थान भएको बताए। पहिले मुख्यियाले भोग दिनका लागि बाख्रा दिने प्रचलन रहेको तर समय परिवर्तित हुँदै अहिले समिति मार्फत मन्दिरका सबै गतिविधि सञ्चालन भइरहेको पनि उनले बताए ।
विशेष अतिथि रुद्र घोतानेले विदेशमा रहे पनि ‘गाउँप्रतिको माया सधैँ यथावत रहने’ उल्लेख गर्दै गाउँका क्यान्सरपीडित प्रेम गुरूङका लागि युकेमा संकलित २ लाख रकम, साथै आमा समूह, बाबा समूह र क्लबका लागि १०–१० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे।
मोहोरिया थाकथलोबाट उदाएका विभिन्न व्यक्तित्व, छिमेकी गाउँका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने व्यक्तित्वहरूलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव रोशन गुरूङले गरेका थिए।
प्रकाशित मिति २०८२ मंसिर २० गते शुक्रबार १२:३३




