पोखरा ।
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिए । संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उनको भनाई छ ।
उनले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताए । संघियता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता उनले औँल्याए ।
संघीयता छरितो बनाउनको लागी चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए । चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाईजेशन गर्नुको विकल्प नभएको उनले बताए ।
प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्नसके नेपालको चालु खर्च दुई तिहाई कटौती हुने उनको दाबी छ ।
प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको भन्दै उनले प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानूनी स्पष्टता जरुरी रहेको बताए ।
कानून निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उनले स्पष्ट पारे ।
उनले भने, ‘हामीले संघियता एकदमै बोझिलो भयो भनेर भनेका छौँ । संघियता एकदमै बोझिलो भयो त्यसकारण यसलाई हटाउनुपर्छ, त्यो समाधान होइन । संघियतालाई छरितो बनाउने चाहीँ समाधान हो । संघीयतालाई छरितो बनाउन चालु खर्च घटाउनुप¥यो । प्रदेश सरकार एउटा मुख्यमन्त्री, एउटा वित्तीयमन्त्री र एउटा एउटा प्रशासनमन्त्री तीन जनाको मन्त्री मात्रै भए हुन्छ । यत्रो म्यानुअल्ली काम गर्नुपर्ने यत्रो ठूलो संरचना आवश्यक छैन । हामीले नेपालको प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज ग¥यौँ भने नेपालको चालु खर्चको दुई तिहाई कटौती हुन्छ । विकास, समृद्धिसँग यो पक्ष अभिन्न ढंगबाट जोडिएको छ । नागरिक स्वतन्त्रतासँग अभिन्न ढंगबाट जोडिएको स्थिति छ । त्यसैले यसलाई क्रियसनमा कसरी प्रयोग गर्ने त्यसको कानूनी प्रष्टता जरुरी छ । यसबाट केही नकरात्मक विषयहरु पनि आएका छन् । यसलाई दुरुपयोग पनि गरिएको छ । दुरुपयोग हुन नदिनको लागी नियन्त्रण गर्न खोजियो भने त्यो स्वतन्त्रता खोसिएको मानिनुपर्दछ । स्वतन्त्रता खोसेर छिटफुट दुरुपयोग गरिने कुरा बन्द गर्न मिल्दैन । दुरुपयोग गरिने कुरालाई बन्द गर्न अझ यसलाई खुला, फराकिलो र एकदमै स्वतन्त्रताको ग्यारेन्टी गरेर गर्न सकिन्छ ।’
सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहेपनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने उनले उल्लेख गरे ।
नागरिकको स्वतन्त्रता हनन हुनेगरी कुनै कानून बनाउन नहुने उनको भनाइ थियो ।
प्रकाशित मिति २०८२ पुस १ गते मंगलबार १२:४७




