२०८३ साउन २१ गते बिहीबार

डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी

डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १ गते मंगलबार १२:५३

गोपनीयताको अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, समानताको अधिकार, मर्यादाको अधिकार र निष्पक्ष प्रक्रियाको अधिकार अनलाइन अन्तरक्रियामा पनि नहराउने उनले बताए ।

पोखरा ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले डिजिटल प्रविधिले न्याय प्रणालीलाई सहयोग गर्नुपर्ने तर प्रतिस्थापन गर्न नहुने बताएका छन् ।

मंगलबार आयोजित ‘डिजिटल राइट्स कन्फरेन्स २०२५’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

डिजिटल फ्रिडम कोलिसनद्वारा आयोजित एकदिवसीय सम्मेलनको थीम ‘बिल्डिङ ट्रस्ट इन द डिजिटल एज’ रहेको छ ।

न्यायाधीश सुवेदीले डिजिटल अधिकारलाई संविधानले ग्यारेन्टी गरेका मौलिक मानव अधिकारको विस्तारित रूप भएको बताए ।

डिजिटल अधिकारहरू अमूर्त अवधारणा नभएको बताउँदै उनले संविधानले ग्यारेन्टी गरेका मौजुदा मौलिक मानव अधिकारहरू नै रहेको जिकिर गरे ।

गोपनीयताको अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, समानताको अधिकार, मर्यादाको अधिकार र निष्पक्ष प्रक्रियाको अधिकार अनलाइन अन्तरक्रियामा पनि नहराउने उनले बताए ।

डिजिटल मुद्दालाई प्राविधिक मात्र नभई सुशासनको मुद्दाका रूपमा हेर्नुपर्नेमा उनले जोड दिए ।

डाटा संरक्षण, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता र अनलाइन अभिव्यक्ति सम्बन्धी कानूनहरू सावधानीपूर्वक बनाउनुपर्ने उनको तर्क छ ।

सर्वोच्च अदालतले व्यक्तिगत डाटा अनधिकृत पहुँच रोक्ने र इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्टको अत्यधिक प्रयोगमा मुद्दा खारेज गर्ने जस्ता फैसलाहरूको स्मरण गर्दै उनले न्यायिक सक्रियताको उदाहरण प्रश्तुत गरे ।

प्रविधिको नाममा लोकतन्त्र, मानव अधिकार, कानूनको शासन र न्यायपालिकाको स्वतन्त्रताका मूल्यमान्यताहरूसँग सम्झौता गर्न नसकिने उनको भनाइ छ ।

उनले सर्वोच्च अदालतले छिट्टै आईटी तथा डिजिटल ट्रान्सफर्मेसन नीति ल्याउने जानकारी दिँदै यसले सम्मेलनका थीमहरूलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

बहुपक्षीय सहकार्यलाई जोड दिँदै न्यायाधीश सुवेदीले डिजिटल सुशासन राज्यको मात्र जिम्मेवारी नभएको बताए ।

सम्मेलनमा नेपालको एआई नीति, सूचना विश्वसनीयता र डिजिटल साक्षरताका विषयमा प्यानल छलफल भएका छन् ।

आयोजकले सम्मेलनले डिजिटल अधिकार संरक्षणमा नीतिगत बहसलाई अगाडि बढाउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति २०८२ पुस १ गते मंगलबार १२:५३
हजुरको प्रतिक्रिया