पोखरा ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरु निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरु निर्वाचनमा होमिएको बताएका हुन् ।
राजनीतिक दलहरुले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको उनले बताए । उनले निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरुले गाउँदेखि शहरसम्म अभियान चलाएको उल्लेख गरे ।
निर्वाचन आयोगले पनि निर्वाचनको कामलाई द्रुत गतिमा अगाडी बढाएको उनले जानकारी दिए । फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरु थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको उनले दाबी गरे ।
निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उनको भनाई छ । सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उनले जानकारी दिए ।
मुलुक निर्वाचनमा अगाडी बढिसकेको उनको दाबी छ । उनले वर्तमान सरकार जेन–जी आन्दोलनको म्याण्डेटअनुसार नै चलेको बताए । निर्वाचनको
तयारी तिब्र गतिमा बढेको उल्लेख गर्दै उनले सुशासनका कार्यहरु पनि सरकारले अगाडी बढाएको बताए । वर्तमान सरकार गठन भएको तीन महिनामा ३० भन्दा बढी भ्रष्टाचारका मुद्दाहरु अदालत पुगेको उनको भनाई छ ।
सरकारले राज्यका निकायहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिएको उनले जानकारी दिए ।
उनले भने, ‘यो सरकारले जेन–जी आन्दोलनपछि हामीले तीन वटा म्याण्डेट पाएका छौँ । भ्रष्टाचार नियन्त्रणका कामहरु अगाडी बढाउने, त्यसको लागी ऐतिहासिक रुपमा तीन महिनाको अवधीमा ३० वटा भन्दा बढी भ्रष्टाचारका मुद्दाहरु अहिले अदालत पुगेका छन् र कारबाही अगाडी बढेको छ । यसमा यो सरकारले बढाएको भन्न खोजेको होईन, विगतका दिनहरुमा जुन खालको प्रभाव र दबाबमा मुद्दाहरु अगाडी बढ्न नसक्ने अवस्था थियो, हामीले अहिले राज्यका निकायहरुलाई स्वतन्त्र रुपमा काम गर्नको लागी सरकारको तर्फबाट बनाउनुपर्ने वातावरण बनाएका छौँ । सरकार अन्र्तगनका निकायहरुलाई पनि हामीले त्यो स्वतन्त्रता दिएका छौँ र भ्रष्टाचार नियन्त्रणसम्बन्धि मुद्दाहरु अहिले मज्जाले अगाडी बढिरहेको छ । सुशासनका कामको सुरुवात हामीले गरेका छौँ । निर्वाचनको कुरा गर्दा फागुन २१ मा निर्वाचन हुँदैछ । निर्वाचन आयोग द्रुत गतिमा काम गरिरहेको छ । ८ लाख भन्दा बढी नयाँ मतदाताहरुले उत्साहपुर्वक रुपमा मतदाता नामावली दर्ता गरेका छन् । करिब करिब सवै राजनीतिक दलहरु चुनावमा होमिईसकेको देख्छौँ हामी । कतिपय राजनितिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुुनुहुन्छ, गाउँदेखी शहरसम्म अभियान चलाउनुभएको छ । यहाँहरुलाई जानकारी गराउँ, उम्मेद्वारको नाम सिफारिस भइरहेको छ । समानुपातिकमा नाम सिफारिस भइरहेको छ । भनेपछि राजनितिक दलहरु चुनावमा होमिनु भइसकेको छ । सरकार सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर चुनावलाई सफल बनाउने वातावरणमा सरकारले त्यो काम गरिरहेको छ । जनता भोट हाल्न आतुर छन् । निर्वाचन अव उत्सव होइन, महोत्सव बन्दैछ । मुलुक निर्वाचनमा अगाडी बढिसक्यो ।’
उनले निर्वाचनको वातावरण बनाउन र मतदाता शिक्षा प्रदान गर्नको लागि सहयोग गर्न सञ्चारमाध्यामहरुलाई पनि आग्रह गरे ।
वर्तमान सरकारले निर्वाचन र सुशासनको कामसँगै अगाडी बढाएको उनको दाबी छ ।
प्रकाशित मिति २०८२ पुस ३ गते बिहीबार १२:४०




