पोखरा ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको छ ।
सरकार गठनको एक सय दिन पूरा भएको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनावको तयारी र वित्तीय सुशासनमा प्रगति भएको दाबी गरेकी छिन् ।
नवयुवा आन्दोलनपछि गएको भदौ २७ गते बनेको नयाँ सरकारको एक सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
नवयुवाहरुलाई आफ्नो आक्रोश र सपना चुनावमा मतपत्रमार्फत व्यक्त गर्न प्रधानमन्त्री कार्कीको आग्रह छ ।
आउँदो फागुन २१ गतेको चुनावलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न र राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजान समेत उहाँले सबैलाई आग्रह गरेकी छिन् ।
चुनावले राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने प्रधानमन्त्रीको विश्वास छ ।
चुनावका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको र सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।
‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐनमा संशोधन गरी चुनावको मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेको बताइन् ।
साथै, क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मार्फत काम थालिएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले सरकारको एक सय दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको दाबी गरिन् ।
पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर नागरिकले तिरेको कर जोगाइएको उनले बताइन् ।
प्रकाशित मिति २०८२ पुस ५ गते शनिबार १२:०९




