२०८३ साउन २१ गते बिहीबार

युआरएलकाे प्राविधिक सहयाेगमा शिवालयचाेक र नदीपुरमा निशुल्क रक्त परीक्षण शिविर

युआरएलकाे प्राविधिक सहयाेगमा शिवालयचाेक र नदीपुरमा निशुल्क रक्त परीक्षण शिविर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ६ गते आइतबार ०९:०२

पोखरा । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् । इनरह्विल क्लब अफ पोखरा...

पोखरा ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् ।

इनरह्विल क्लब अफ पोखरा र पोखरा महानगरपालिका वडा नम्बर ३ को आयोजना र युआरएलसहित पोखरा महानगरको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा नदीपुरमा भएको शिविरमा २ सय ३ जनाको सित्तैमा थाइराइड तथा मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो ।

शनिबारै लायन्स क्लब अफ ब्युटिसिटी, लायन्स क्लब अफ पोखरा जिबिपी र शिवालय आमा समूहको आयोजनामा पोखरा–८, शिवालयचोकमा मधुमेह, थाइराइड तथा मिर्गाैलासम्बन्धी रगत जाँच सित्तैमा गरिएको छ । शिविरमा ३ सय ५२ जनाको सित्तैमा रगत जाँच गरिएको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले बताए ।

अध्यक्ष पन्थले प्रदेशकै पहिलो र अग्रणी ल्याब भएकाले निजी क्षेत्रले निर्वाह गर्नुपर्ने सामाजिक दायित्व निर्वाह गर्न पनि अग्रणी भूमिका खेल्दै आएको जनाए । उनले भने, ‘स्थापनाको १२ वर्षमा विभिन्न संघ, संस्थाले हामी आफैंले पनि गरी २ सय १४ वटा शिविर गरेका छौं । सँगसँगै विशेषज्ञहरुबाट सचेतना कार्यक्रम पनि चलाउँदै आएका छौं ।’
पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले जनतालाई सहज र सुलभ तवरले स्वास्थ्य सेवा पु¥याउने दायित्व राज्यले मात्र पूरा गर्न कठिन रहेकाले संघ, संस्था र निजी क्षेत्र पनि सघाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, थाइराइड लगायतका रोग लाग्ने कारण, उपचार विधि र जटिलताका अवस्थाबारे प्रकाश पारे । उनले भने, ‘बेला बेलामा चेकजाँच गराउने, खानपान र जीवनशैली सुधार्ने हो भने नसर्ने खालका धेरै रोगबाट बाच्न सकिन्छ ।’
वरिष्ठ स्त्री प्रसूति तथा बाँझोपन रोग विशेषज्ञ डा सरिता गुरुङले नेपाली महिलाले अझै पनि रोगहरु लुकाउने गरेको सुनाउँदै समस्या सुरु हुँदै उपचार खोज्न आग्रह गरिन् । उनले भनिन्, ‘समस्या लुकाएर होइन, उपचारपछि जीवन सहज हुन्छ । महिलाले पाठेघर, बाँझोपन आदिका समस्याबाट बढी पीडित हुनुपर्छ, हिंसा पनि सहनुपर्ने हुन सक्छ । बेलैमा उपचार गरौँ ।’
लायन्स क्लब अफ ब्युटिसिटी अध्यक्ष कल्पना सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक्ट फेलोसिप चिफ सबी शेरचन, शिवालय टोल विकास संस्थाका अध्यक्ष ईश्वरप्रसाद सुवेदी, ब्युटिसिटीकी सचिव सुनिता अधिकारी लगायतले बोलेका थिए ।

प्रकाशित मिति २०८२ पुस ६ गते आइतबार ०९:०२

हजुरको प्रतिक्रिया