२०८३ साउन २१ गते बिहीबार

‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’

‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ७ गते सोमबार ०४:४९

फागुन २१ गतेका लागि अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको छ । तर समयमै निर्वाचन हुने कुरा जटिल रहेको उनीहरुले बताए ।

पोखरा ।

प्रतिनिधि सभा सदस्य समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् ।

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्दै नागरिक अगुवाहरुले यस्तो आशंक व्यक्त गरेका हुन् ।

फागुन २१ गतेका लागि अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको छ । तर समयमै निर्वाचन हुने कुरा जटिल रहेको उनीहरुले बताए ।

नागरिक अगुवा सूर्यप्रसाद श्रेष्ठले आन्दोलनले नयाँ सरकार बनाएको र सरकारको आफ्नो उत्तरदायित्व भएको बताए ।

सरकारलाई बाहिरि हस्तक्षेप भएको खण्डमा र सरकारले निर्वाचन आयोगमा हस्तक्षेप गरेको खण्डमा देशले समयमा निकास नपाउने उनले बताए । सरकारले तोकेको अवधिभित्र निर्वाचन सम्भव नहुने उनको भनाइ छ ।

सरकारको काम राजनीतिक परिचालन, समन्वय, सबैलाई सहभागी गराउने र सन्त्रासको वातावरणबाट उन्मुक्ति दिने हुनुपर्ने उनले बताए ।

त्यस्तै नागरिक अगुवा माधवप्रसाद पौडेलले निर्धारित अवधिभित्रै विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरेको खण्डमा पनि मतदान केन्द्र कहाँ राख्ने भन्ने दुविधा रहेको बताए ।

मतदान केन्द्र राजदुतावासमा राख्ने वा त्यस भन्दा बाहिर राख्ने भन्ने प्रश्न रहेको उनले बताए । अन्तर प्रदेश मतदानका लागि सुरक्षा चुनौति रहेको उनको भनाइ थियो ।

१ सय ६५ स्थानमै निर्धारित अवधिभित्र निर्वाचन सम्भव नरहेको उनको भनाइ छ । पूर्वमन्त्रीसमेत रहीसकेका पौडेलले अन्तरिम सरकारले गरेको निर्वाचन सर्वस्वीकार्य हुन नसके त्यसको परिणाम राम्रो नहुने बताए ।

सम्भव नभएका कामहरु अघि सार्नेकुराले स्टन्टबाजी मात्रै हुने र समयमै निर्वाचन गर्नतिर सरकार लागेको छ भन्नेकुरामा नै प्रश्न उठ्ने उनले जिकिर गरे ।

नागरिक अगुवा कनकमणि दिक्षितले अन्तर्राष्ट्रिय मान्यताअनुसार निर्वाचन घोषणा भइसकेपछि विधि र प्रविधिलाई फेरबदल गर्नु उचित नभएको उनले बताए ।

२१ फागुनमा निर्वाचन नहुँदा मुलुक अनिश्चियतर्फ जाने उनले उल्लेख गरे । आगामी फागुन २१ गतेलाई अर्जुनदृष्टिका साथ हेर्नुपर्नेमा पनि उनको जोड थियो ।

उनले संविधानमा केही छेडखानी भएको र त्यसलाई मेटाउने २१ गतेको निर्वाचन नै भएको बताए । नहुने सम्भावनाहरु टारेर भएपनि समयमै निर्वाचन गराउनुपर्ने जरुरी रहेकोमा उनले जोड दिए ।

त्यसैगरि नागरिक अगुवा राधेश्याम अधिकारीले निर्वाचनको प्रक्रिया शुरु गरिसकेपछि कानूनहरु परिवर्तन गर्न नहुने बताए ।

यसलाई खेलाँची गरे ठिक ठाउँमा नपु¥याउने उनले बताए । विदेशमा बस्ने नेपालीहरुको मतदानको कुरा संवेदनशील रहेको उनले जिकिर गरे ।

फागुन २१ गते निर्वाचन कुनै हालतमा हुनसक्ने अवस्था नरहेको उनले बताए । निर्वाचन प्रक्रिया शुरु भइसकेकाले खेलको नियम नबिगारी अघि बढ्न पनि उनले सुझाव दिए ।

उनले कानून संशोधन गरेर अध्यादेश ल्याउने बेला नभएको पनि पनि उल्लेख गरे । शिर्ष नेतृत्वलाई स्थानहद तोकेर निर्वाचन गर्न सम्भव नरहेकाले नेताहरुको स्थानहद हटाउनुपर्ने पनि उनको भनाइ थियो ।

कार्यक्रममा उपस्थित अन्य नागरिक अगुवाहरुले नेपालमा विदेशमा रहेका ४० लाख मानिसहरुलाई मतदानबाट वञ्चित गर्न नहुने सुझाव दिएका छन् ।

प्रकाशित मिति २०८२ पुस ७ गते सोमबार ०४:४९
हजुरको प्रतिक्रिया