पोखरा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ट्याक्सी व्यवसायीबाट दुव्र्यवहार भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलको नेतृत्वको टोलीले सोमबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराललाई ज्ञापन पत्र बुझाएको हो ।
विमानस्थल परिसरमा ट्याक्सी व्यवसायीले नीजि कार, दुई पांग्रे सवारी साधनमार्फत आफन्त लिन र छोड्न जाने सर्वसाधारणलाई दुव्र्यवहार गर्ने गरेको अनेरास्ववियु कास्कीको ठहर छ ।
यस्ता गतिविधिले सर्वसाधारण नागरिकमा असुरक्षा सिर्जना भएको र पर्यटकहरुमासमेत नकारात्मक सन्देश जाने अध्यक्ष पोखरेलले बताए । दादागिरी गर्ने ट्याक्सी व्यवसायीमाथि कारबाही गर्ने पोखरेलले माग गरे ।
ज्ञापनपत्र बुझ्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले मागप्रति आफुहरु गम्भिर रहेको प्रतिक्रिया दिए ।
उनले तत्कालै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्बन्धित निकायहरुसँग यसबारेमा छलफल गर्ने प्रतिवद्धता दिलाए ।
प्रकाशित मिति २०८२ पुस ७ गते सोमबार ०८:१२




