२०८३ असोज २५ गते आइतबार

प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ

प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ८ गते मंगलबार ०१:१५

जेन–जी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भनेको उल्लेख गर्दैै उनले यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताए ।

पोखरा ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेन–जीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन् ।

मंगलबार नेपाली काँग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

जेन–जी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भनेको उल्लेख गर्दैै उनले यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताए ।

निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उनको भनाइ छ । सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाए ।

पुराना वा नयाँ पार्टीको नाममा कुनैपनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने जिकिर उनले गरे । उनले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा काँग्रेस दृढ रहेको स्पष्ट पारे ।

उनले भने, ‘कसैले कसैलाई निषेधको राजनीति गरेर, निषेधको भावनाबाट अग्रसर भएर निर्वाचन सुसम्पन्न हुन सक्दैन । कुनै प्रश्न नउठ्ने ढंगबाट नेपाल सरकार अघि बढ्नुपर्छ । कुनै कुना कन्तरामा आशंका उब्जिने गरी अघि बढ्न भएन । सबै मिलेर गए निर्वाचन सम्पन्न हुन्छ । पुराना वा नयाँ पार्टीको नाममा कुनैपनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुँदैन । हामी विध्वंश र मतपत्र च्याताच्यात भएको देख्न चाहँदैनौँ । हामी प्रजातन्त्र र लोकतन्त्रवादी हौँ । कसैको मताधिकार नखोसियोस् । मत हाल्ने अधिकारबाट वञ्चित नहोस् । अन्तरजिल्ला मतदानको कुरा छ, विदेशमा रहेकाहरुको मतदानको कुरा छ । चर्चाका लागि मात्रै कुरा नगरौँ । निर्वाचन फागुन २१ मा हुँदैछ भनिएको छ, यसलाई अर्जुनदृष्टिमा राख्नुपर्छ । सबै राजनीतिक दलहरु उपस्थित हुने र त्सहभागी बन्ने स्थिति सिर्जना गर्नुपर्छ । १० बुँदे सम्झौता गर्नेहरुले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौँ भनिरहेका छन् । सम्झौता त यहाँहरुकै अघि च्यातिएको छ । के भइरहेको छ । नच्यात्ने पक्षले चुनाव हुन दिन्नौँ भनिसके । त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौँ । यहाँहरुको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ । केही न केही त छ । आशंका झन बलियो बनायो ।’

उपसभापति गुरुङले नेपाली काँग्रेस निर्वाचनबाट नभाग्ने बताए । सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको उनले जिकिर छ ।

उनले निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो शर्त रहेको उल्लेख गर्दै सरकारले भयमुक्त वातावरण बनाउन नसकेको बताए ।

प्रकाशित मिति २०८२ पुस ८ गते मंगलबार ०१:१५
हजुरको प्रतिक्रिया