२०८३ साउन २१ गते बिहीबार

आजबाट १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोनाविरूद्धको खोप लगाइँदै

आजबाट १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोनाविरूद्धको खोप लगाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ४ गते आइतबार ०७:५६

सरकारले आज (आइतबार) देखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आज पुस ४ देखि १४ गतेसम्म १२–१७ वर्ष समूहका विद्यार्थीलाई...

सरकारले आज (आइतबार) देखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आज पुस ४ देखि १४ गतेसम्म १२–१७ वर्ष समूहका विद्यार्थीलाई लगाउने भएको हाे ।

मन्त्रालयका अनुसार प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ का सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ।

यस्तै खोप लगाउनेमा बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चाेक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशका रुकुमपूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया छन्।

त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन्। ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म लगाइनेछ।

यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप अभियान सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा सोही अवसरमा फाइजर खोप लगाइने जानकारी दिएकाे छ।

यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिँदै छ। ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति २०७८ पुस ४ गते आइतबार ०७:५६
हजुरको प्रतिक्रिया