पोखरा ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज र भोली राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उनले बताए ।
आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।
पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए ।
सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् ।
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।
त्यस्तै अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको संख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । जसमा ५ लाख २२ हजार ५ सय ५२ पुरुष र ३ लाख ९२ हजार ५ सय ५२ महिला छन् ।
प्रतिनिधिसभा सदस्य चुनावमा जम्मा १ करोड ८९ लाख ३ हजार ६ स ८९ जना मतदाताले भाग लिने भएका छन् ।
निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने जनाएको छ ।
मतदाताले नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ ।
आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९ सय ६७ मतदातास्थलमा २३ हजार १ सय १२ मतदात केन्द्र निर्धारण गरिएको छ ।
यो चुनावमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको संख्या ८ सय ८५ बढेको छ ।
प्रकाशित मिति २०८२ पुस १३ गते आइतबार १२:०२




