पोखरा ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताएका हुन् ।
सबै राजनीतिक दलहरुले समानुपातिकतर्फको सूचि बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनको भनाइ छ ।
उनले नेपाली काँग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै सरकारले त्यसको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताए । सेनाले निर्वाचन गराउँदैन भन्नेकुरा सबैले बुझ्न जरुरी रहेको पनि उनको भनाइ छ ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदीहरु फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा भने उनले शंका व्यक्त गरे ।
उनले भने, ‘सबै राजनीतिक दलहरुले समानुपातिकको सूचि पठायो पनि । तर वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन ? भन्ने प्रश्न चाहीँ अहं प्रश्न छ । हामी भाग्दैनौँ निर्वाचनबाट । एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर हामी निर्वाचनबाट भाग्दैनौँ । तर निर्वाचनको लागि सरकारले केही काम त गर्नुप¥यो । शान्ती सुरक्षा त दिनसक्नुपर्यो । समाजमा शान्ती सुरक्षा छ कि छैन भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ । प्रहरी प्रशासनको आजको दिनमा अत्यन्त मनोबल गिरेको अवस्थामा छ । नेपाली सेनाले निर्वाचन गराउने हैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ । नेपाली सेना त तेस्रो घेरामा मात्रै बस्छ । बुथमा बस्ने भनेको प्रहरी नै हो । प्रहरीलाई कति समस्या पर्छ भनेर हामीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा देखेका छौँ । भय र त्रासमा भोट हालेको हामी सम्झिन्छौँ त्यो बेलामा । अर्को कुरा ५ हजार कैदीहरु जसमा सार्फ सुटरहरु पनि छन्, ती भागेका छन् । राज्यले खोज्नुप¥यो । लुटिएका हतियारहरु पनि छिटोभन्दा छिटो फिर्ता ल्याउनुपर्छ भन्ने नेपाली काँग्रेसको मात्र होइन सबै दलहरुको माग हो ।’
नेता कोईरालाले २३ भदौमा भएको जेन–जी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरेपनि कम हुने बताए । यद्यपि २४ भदौमा भएको विध्वंशलाई सामान्य रुपमा हेर्न नहुने उनको भनाइ छ ।
उनले मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरु समेत तहसनहस पारिएको उल्लेख गर्दै जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गरे ।
यो सब काँग्रेस–एमालेको सरकार हटाउनको लागि मात्र हो त ? उनको प्रश्न छ । उनले संसद पुनःस्थापना गरेर समेत अहिले समस्याहरुको निकाश निस्कन नसक्ने जिकिर गरे ।
प्रकाशित मिति २०८२ पुस १५ गते मंगलबार ०३:३४




