२०८३ असोज २५ गते आइतबार

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २६ गते शनिबार ०४:०५

उनले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभइसकेको भन्दै लोकतन्त्र अझै संकटमा रहेको बताए । संविधान मिचिएको, जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको उनले बताए ।

पोखरा ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार विभिन्न मुद्दाहरुमा लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्न तयार रहेको बताएका छन् ।

शनिबार केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमाले निर्वाचनमा स्वस्थ प्रतिष्पर्धामा विश्वास राख्ने पार्टी भएको बताए ।

उनले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभइसकेको भन्दै लोकतन्त्र अझै संकटमा रहेको बताए । संविधान मिचिएको, जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको उनले बताए ।

समाज अराजकता, निषेध र हिँसाको धम्कीबाट अझै पनि त्रस्त रहेको उनले बताए । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको उनले जिकिर गरे ।

अध्यक्ष ओलीले भने, ‘मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइसकेका छैनन् । लोकतन्त्र सङ्कटमा छ । संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध र हिँसाको धम्कीबाट अझै पनि त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएका छन् । मुलुकमा केही पनि भएन भनेर जबर्जस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरुमा निराशा र अन्यौल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ । यसलाई राम्ररी संवोधन गर्नु पर्नेछ । यसका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरु बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी छ । हामी त्यसका लागि प्रयास गरिरहेका पनि छौं । हाम्रो पार्टी निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा र आवश्यकता अनुसार विभिन्न मुद्दाहरुमा लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ । यसका निम्ति उपरोक्त शक्तिहरुलाई म आज र यस ठाउँबाट पनि आह्वान गर्दछु ।’

अध्यक्ष ओलीले समाजमा भ्रम र द्विविधाको अवस्थामा रहेको भन्दै यसलाई सम्बोधन गर्न संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरु बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी रहेको बताए ।

प्रकाशित मिति २०८२ पुस २६ गते शनिबार ०४:०५
हजुरको प्रतिक्रिया