पोखरा ।
नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग छलफल गर्नुपर्ने बताएका छन् ।
मंगलबार नेपाली काँग्रेसको विशेष महाधिवेशनका क्रममा गण्डकी प्रदेशको तर्फबाट आफ्ना धारणा राख्नुहुँदै उनले यस्तो प्रश्ताव गरेका हुन् ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गर्न उनले माग गरे । गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
उनले देश र जनता बचाउनु पहिलो काम भएको पनि बताए । देशमाथि परिरहेको संकटको समाधान गर्न नेपाली काँग्रेसको नेतृत्वको खोजि भइरहेको उनले बताए ।
उनले भने, ‘नेपाली काँग्रेस बचाउनु पहिलो काम हो । देशमाथि परेको संकटलाई समाधान गर्न पनि नेपाली काँग्रेसको नेतृत्व खोजेको छ । तसर्थ परिमार्जित, देश र जनताको सेवामा समर्पित नेतृत्व निर्माण गरी महाधिवेशनबाट चयन गरौँ । विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउन माग गर्दछौँ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गरौँ । संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग विचार विमर्श गरौँ । गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गरौँ ।’
साथै उनले देश विकासमा जुट्न अब ढिलो भइसकेको पनि बताए ।
प्रकाशित मिति २०८२ पुस २९ गते मंगलबार १२:०७




